भैरहवा । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एउटा गभर्नर नियुक्ति गर्न नसक्ने सरकारले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् ।

दलिय दलाल दलतन्त्र, लुट एवं भ्रष्टाचारको बिरुद्धमा रुपन्देहीको पिप्रा महजिदिया बजारमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई तिहाईको शक्तिशाली सरकार आफ्नै भारी बोक्न नसकेर ढल्न लागेको बताए ।

‘राष्ट्र बैंकको गभर्नर खाली भएको महिनौ बितेको छ । यस्ता पदाधिकारी खाली हुनुभन्दा एक महिना अघि नै नियुक्ती गर्नुपर्ने हो । तर सरकारमै रहेका बीचमा किचलो छ । दुई तिहाईको शक्तिशाली सरकारले एउटा गभर्नर नियुक्ति गर्न सकेको छैन् । तर प्रधानमन्त्री र मन्त्रीहरुले सुशासनको कुरा गरेर थाक्दैनन, वास्तवमा यो सरकारले सुशासन दिन सक्दैन्,’ आजपा अध्यक्ष साहले भने, ‘दुई तिहाईको शक्तिशाली केपी शर्मा ओली नेतृत्वको सरकार धर्मराएको छ । यो सरकार आफ्नै भारी बोक्न नसकेर गलेर ढल्दैछ ।’

कांग्रेस र एमालेकाबीचमा ७ बुँदे सहमती भएर सरकार बनेको १० महिना भए पनि त्यसको एक बुँदा पनि अहिलसम्म कार्यान्वयन नभएर सरकार असफल भइसकेको उनले बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रम नै कांग्रेसले अपनत्व नलिएको साहले बताए ।

‘सरकारले ल्याएको नीति तथा कार्यक्रम मुलुकको आवश्यक्ता अनुसार आएको छैन् । त्यही कारण अधिकांश कांग्रेसका प्रभावशाली नेताहरुले संसद् भवनमै नीति तथा कार्यक्रमको खुलेर आलोचना गर्नुभएको छ । दुई पार्टीका बीचमा भएको ७ बुँदे सहमति १० महिना पुरा हुँदा समेत एउटा बुँदापनि कार्यान्वयन हुन सकेको छैन््,’ आजपा अध्यक्ष साहले भने ।

कांग्रेसले अब पनि एमालेको पापको भारी बोकिरहने गल्ती नगरोस् भन्ने सुझाव दिदै उनले प्रधानमन्त्री केपी ओलीको कुकर्मको साक्षी बस्ने काम कांग्रेस सभापति शेरबहादुर देउवाबाट भएको टिप्पणी गरे । राजनीतिक संयन्त्रबाट शासन गर्न खोज्दा आलोचित भएपछि कांग्रेस महामन्त्री गगन थापाहरु अहिले बैठकमै जान छोडेको उनले बताए ।

‘कांग्रेसले अब पनि एमालेको पापको भारी बोकिरहने गल्ती नगरोस् । केपी ओलीको कुकर्मको साक्षी बस्ने काम देउवाबाट भयो । देश पूरै असफल भैसक्यो, तथ्यांकको नाममा मिथ्यांकले पनि काम गर्न छोड्यो । भिसीको राजीनामादेखि विद्या भट्टराईको राजीनामाले पनि सरकारको असफलता पुष्टि गरिसक्यो । शिक्षक आन्दोलन अझै टुँगोमा पुगेको छैन, विद्यालय कर्मचारी आन्दोलनमै छन् । बैंक एवं सहकारी पीडितदेखी चिकित्सक, कर्मचारी सबै आन्दोलन भए पनि सरकारलाई कुनै बिषयको चिन्ता वा चासो छैन्,’ आजपा अध्यक्ष साहले भने ।

यस्तै उनले सिमा सुरक्षाको नाममा सशस्त्र प्रहरीले लूट मचाएको बताएका छन् । सिमानाको रक्षा गर्ने सिमावर्ती क्षेत्रकै नागरिकलाई सशस्त्र प्रहरी लुटने काम गरिरहेको बताए ।

‘सिमानाको रक्षा, सुरक्षा सिमावर्ती क्षेत्रका नागरिकले गरेका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि सिमाको रक्ष गर्ने त्यही सिमावर्ती क्षेत्रका नागरिकलाई सशस्त्र प्रहरीले लुटने काम गर्नु दुखद हो,’ आजपा अध्यक्ष साहले भने, ‘किसानलाई सरकारले आवश्यक मलखाद्य दिदैन । सिमावर्ती क्षेत्रका नागरिकले भारतबाट ल्याएको एकदुई बोरा खाद्य खोस्ने र लुटने काम गरेर सशस्त्र प्रहरीले बहादुरी देखाउँछन् । कमिशनको लोभमा मलखाद्य खोसिदिने सरकारको अपराध हो ।’
आजपा उपाध्यक्ष डा. उसमानको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु त्रिभुवन साह, नारायण पाण्डे, श्रीभगवान पटेल, विधा शर्मा लगायतका सहभागिता रहेको थियो ।