अनेरास्ववियुको आजबाट विद्यार्थी महोत्सव

काठमाडौं । एमाले निकट अनेरास्ववियुले आजबाट संगठन स्थापना भएको ६० वर्ष पुगेको अवसरमा आजबाट विद्यार्थी महोत्सव आयोजना गरेको छ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले महोत्सव शुरू गरिएको जानकारी दिँदै भन्नुभयो– ‘ब्रेनड्रेन होइन ब्रेनग्रेन गराउन महोत्सव आयोजना गरेका हौं। युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेह जगाउँदै ‘नेपालमै पढछु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ का माध्यमबाट नयाँ जागरण ल्याउने प्रत्यत्न गरेका हौं ।’

नेपालको विद्यार्थी आन्दोलनको इतिहासमा यो सबैभन्दा ठूलो शैक्षिक महोत्सव भएको अनेरास्ववियुको दाबी छ। महोत्सवमा प्रत्यक्ष परियोजना, लाइभ म्युजिक, करियर काउन्सिलिङ, बहस र संवाद, सातवटै प्रदेश झल्कने खालका सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, फुडस्टल, ई–गेमिङ्ग प्रतियोगिता, रोवोटिक्स, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण कार्यक्रम राखिएको छ।

महोत्सवमा विद्यार्थी आन्दोलनको ६ दशक र अबको कार्यभार, शिक्षा प्रणालीको पोलिटिकल इन्जिनियरिङ कस्तो ? कसरी सम्भव छ राजनीतिक स्थायित्व ?, बदलिँदो भूराजनीति र नेपाल, विश्वविद्यालय सुधार किन र कसरी ?, युवा विद्यार्थी पलायनको अर्थ राजनीतिक आयामलगायतका विषयमा नेपालका राजनीतिक दलका नेताबीच सामूहिक छलफल हुने बताइएको छ।

विद्यार्थी महोत्सवका संयोजक धर्म गिरीका अनुसार महोत्सवमा १ सय ५० बढी शैक्षिक स्टल राखिने छन्। महोत्सवमा विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्न लागि लाइभ म्युजिक कार्यक्रमसमेत राखिएको छ । जोन एन्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थ जस्ता चर्चित ब्यान्डका कलाकारहरूले प्रत्येक दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सांगीतिक कार्यक्रम प्रस्तुत हुनेछ ।

छुटाउनुभयो कि ?

TOP