काठमाडौं । प्रहरी जवान पदमा अर्कैको नाममा परीक्षा दिइरहेका ६ जना पक्राउ परेका छन् ।
शनिबार भएको प्रहरी जवान पदको लिखित परीक्षामा ६ जना परीक्षार्थीको नाममा अर्कै व्यक्तिले परीक्षा दिइरहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका हुन्।
यस्तै पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द रहेका प्रहरीले जानकारी दिएको छ ।
दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको प्रहरी जानकारी दिएको छ।