काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ।
चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुनलाई पक्राउ गरिएको सिआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
प्रहरीले काठमाडौंको सानो गौचरनस्थित अटो सर्भिसेज प्रालिको अटो वर्कसपभित्र रोकी राखेको अवस्थामा भारतीय नम्बरको बिआर ०६ यु ९०५३ नम्बरको कार चेक गर्दा उक्त कारको डिकीमा लुकाइछिपाई राखेको अवस्थामा सो परिणामको चाँदीको गरगहना बरामद गरेको थियो।
सिआइबीले अवैध चाँदीका गहना र सोको भण्डारण र बिक्री वितरणमा संलग्नलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ।