भारतीय टिमकी कप्तान जिनीले मधेशबाट खेल्ने

काठमाडौँ । मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि भारतकी कप्तान जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ। मधेशमा भित्रिने उनी तेस्रो विदेशी खेलाडी हुन्।

मधेशले यसअघि काजकिस्तानकी आउट साइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ। इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलोपल्ट महिला भलिबलको फ्रेन्चाइज लिग हुन लागेको हो। आगामी असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने लिगमा मधेशले उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछ।

२८ वर्षीय सेटर जिनी केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा त्यस टिमको कप्तान थिइन्। जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन्।

जिनीले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेत खेलिसकेकी छन्। मधेशबाट खेल्न आफू एकदमै उत्साहित रहेको उनले बताएकी छन्। ‘मैले यसअघि नेपाल आएर चार पटक खेलिसकेको छु। यसपल्ट मधेशबाट खेल्न आउँदै छु। म लिगलाई लिएर एकदमै उत्साहित छु। सबैलाई नेपालमै भेट्नेछु,’ उनले भनिन्।

जिनीको अनुबन्धपछि मधेशमा खेलाडी संख्या ११ पुगेको छ। नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेशको टिममा अहिलेसम्म आठ नेपाली र तीन विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ।

मार्की प्लेअर निरुतासहित  राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि मधेशको टिममा छन्। यस्तै, काभा यु–२० महिला च्याम्पियनसिप खेलेका एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेशमा अनुबन्धित छन्। राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसीसँगै जसना महतो पनि मधेशबाट खेल्नेछन्।

छुटाउनुभयो कि ?

TOP