महिला भलिबलमा पनि फ्रेन्चाइज लिग हुने

काठमाडौं । नेपालमा महिला भलिबलको फ्रेन्चाइज लिग हुने भएको छ । इन्फिनिटी ड्रिम्स नामक कम्पनीले महिला भलिबलमा ६ टिम सहभागी गराएर फ्रेन्चाइज लिग गर्न लागेको हो । मिति घोषणा हुन बाँकी रहेको लिगका लागि बिहीबार ६ टिमको मालिकको नाम सार्वजनिक गरिएको छ ।

जसमा विभिन्न शहरलाई आधारित रहेर टिम तयार पारिएको छ । लिगमा उपत्यका भित्रबाट काठमाडौं र ललितपुरको टिम हुनेछ भने गण्डकी, चितवन, मधेश र कर्णाली क्षेत्रलाई आधार बनाएर बाँकी टिम बन्नेछ । मधेशले आफ्नो टिमको नाम मधेश युनाइटेड सार्वजनिक गरिसकेको छ ।

इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघसँग ७ वर्षको लागि सम्झौता गरिसकेको छ । इन्फिनिटी ड्रिम्सका प्रवन्ध निर्देशक आमिर अख्तरले भलिबलको फ्रेन्चाइज लिग दक्षिण एसियामै पहिलो पटक नेपालमा हुन लागेको दाबी गरे ।

भलिबल नेपालको राष्ट्रिय खेल हो र पछिल्लो समय डोमेस्टिक र अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको सफलताका कारण भलिबलको क्रेज बढिरहेको छ । हालै नेपाल भलिबल संघले काभा वुमन्स नेसन्स लिगको सफल आयोजना गर्‍यो । नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्स सहभागी लिगको उपाधि भारतले जित्यो भने नेपाल उपबिजेता बन्यो ।

पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग राउण्ड रोवबनको आधारमा हुनेछ । लिगको बाँकी मोडालिटीबारे भने केही सार्वजनिक गरिएको छैन । आयोजकले यसअघि हुँदै आएको अन्य फ्रेन्चाइजी मोडलकै आधारमा यो लिग गर्ने जनाएको छ ।

टिम निर्माणका लागि खेलाडी ड्राफ्ट गर्ने तयारी छ । हरेक टिममा १२ खेलाडी हुनेछन् । जसमा ९ नेपाली र ३ विदेशी खेलाडी रहने आयोजकले जनाएको छ । नेपाली खेलाडीमध्ये एक जना मार्की प्लेअर हुनेछ भने एक जना हरेक टिमले स्थानीय स्तरबाट टयालेन्ट हन्ट गरेर राख्नुपर्नेछ ।

नेपाली खेलाडीलाई तीन समूहमा बर्गीकरण गरेर ड्राफ्ट गरिनेछ । केही दिनपछि नै खेलाडी ड्राफ्ट गरिने आयोजकले जानकारी दिएको छ ।

समूह ए का खेलाडीले १ लाख ५० हजार, समूह बी का खेलाडीले १ लाख र समूह सी का खेलाडीले नगद ५० हजार रुपैयाँ पाउने गर्ने इन्फिनिटी ड्रिम्सका प्रवन्ध निर्देशक अख्तरले जानकारी दिए ।

छुटाउनुभयो कि ?

TOP