अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फाइनलमा

 काठमाडौं – अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल यात्रा तय गरेको छ ।

जारी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक आईसिसीको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको हो।

वेस्ट इन्डिजस्थित ब्रायन लारा स्टेडियममा भएको सेमिफाइनल खेलमा अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले निर्धारित ओभरको ८. ५ ओभर खेल्दै जम्मा विकेटको क्षतिमा पूरा गर्यो।

दक्षिण अफ्रिका हालसम्म आईसिसी विश्वकपको वन डे र टी–२० को इतिहासमा फाइनल पुग्न सकेको थिएन। यसअघि दक्षिण अफ्रिकी टीम ५ पटक (१९९२, १९९९, २००७ र २०२३) वन डे को सेमिफाइनलमा पुगेको र टी–२० विश्वकपमा (२००९ र २०१४) २ पटक सेमिफाइनलमा पुगेको भएपनि फाइनलमा पुग्नबाट चुकेको थियो। तर, यसपटक भने सुरुदेखि नै फर्ममा रहेको दक्षिण अफ्रिकी टीमले इतिहास रचेको छ। र, अब फाइनलमा पनि उपाधि जित्ने लक्ष्य राखेको छ।

दक्षिण अफ्रिकालाई फाइनलमा पुर्याउन कप्तान ऐडन मार्करमले २३ रन बनाउँदा रिजा हेन्ड्रिक्सले सर्वाधिक २९ रनको पारी खेले। त्यसअघि ओपनर ब्याट्सम्यान क्वान्टिन डी कक ५ रनमा पभेलिएन फर्केका थिए। उनलाई अफगानिस्तानका फजलहक फारुकीले बोल्ड आउट गरेका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ओभरको  ११.५ ओभर खेल्दै सबै विकेट गुमाएर ५६ रन मात्रै बनाउन सक्यो। पहिलोपटक सेमिफाइनलमा पुगेको अफगानिस्तानका कुनैपनि ब्याट्सम्यान दक्षिण अफ्रिकी बलरसमक्ष धेरै बेर टिक्न सकेनन्। जसका कारण अफगानिस्तान झिनो रनमै समेटियो।

अफगानिस्तानका ओपनर ब्याट्सम्यान रहमानुल्लाह गुरबाज शून्य, मोहम्मद नबी शून्य, नुर अहमद शून्य र फजलहक फारुकी पनि शूनय रनमा पभेलियन फर्के भने इब्राहिम जादरान २, गुलबदिन नायब ९, अजमतुल्लाह ओमरजाई १०, नानगेयालिया खरोटे २, करिम जनत ८, कप्तान राशिद खान ८ रनमा आउट भए।

अफगानिस्तानलाई झिनो रनमै समेट्न दक्षिण अफ्रिकाका मार्को जेनसन र तबरेज सम्सीले समान ३/३ विकेट लिए भने कागिसो रबाडा र एनरिक नोर्टजीले समान २/२ विकेट हात पारे। दक्षिण अफ्रिकाले अब फाइनलमा आजै हुने दोस्रो सेमिफाइनलका विजेता भारत वा इङ्ग्ल्यान्डसँग खेल्ने छ।

छुटाउनुभयो कि ?

TOP