काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आइतबार नेपालले स्कटल्याण्डसँग खेल्दैछ । स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ।
नेपालले यसअघि स्कटल्याण्डविरुद्धको पहिलो खेलमा १ विकेटको रोमाञ्चक जित हात पारेको थियो। त्यसपछि नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै नेपाल सिरिजमा अपराजित रहन सफल भएको छ। यस सिरिजको अन्तिम खेल नेपालले यही बिहीबार नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ।
लिग-२ को अंक तालिकामा नेपाल १० अंकसहित सातौं स्थानमा छ। नेपालले अहिलेसम्म १४ खेल खेलेको छ। १६ खेल खेलेको युएई ६ अंकसहित पुछारमा छ।
शीर्षस्थानको अमेरिकाले २० खेलबाट २८ अंक बनाएको छ।
त्यस्तै तेस्रो स्थानको ओमानले २० खेलबाट २४ अंक, चौथो स्थानको स्कटल्याण्डले १८ खेलबाट २२ अंक र पाँचौं स्थानको क्यानडाले २० खेलबाट २० अंक जोडेको छ।
नेपालभन्दा एक स्थान माथि रहेको नामिबियाले २० खेलबाट १४ अंक जोडेको छ।