काठमाडौं । नेपाली राष्ट्रिय उसु खेलाडीले चीनमा विश्वकपको तयारी गर्ने भएका छन् । नेपाली खेलाडीले उसुका सान्सौँ र थाउलो विधामा विश्वकपमा सहभागी जनाउँदै छन् । अस्ट्रेलियामा सान्सौँ र जापानमा थाउलोको विश्वकप उसु प्रतियोगिता हुँदै छ । यी दुवै प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्न उसु महासंघले खेलाडीलाई चीनमा अभ्यास गराउन लागेको हो । महासंघका अध्यक्ष वीरबहादुर तामाङले चीन उसु एसोसिएसनसँग तीनमहिने प्रशिक्षणका लागि प्रयास गरिरहेको बताए ।
सान्सौँको विश्वकपमा नेपालबाट सञ्जीव महर्जन र विद्या गुरुङले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, थाउलोमा दीपक हमालले भाग लिनेछन् । यी तीनजना खेलाडीले वैशाखको दोस्रो साता चीनको जियानझिङमा भएको अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । यही प्रदर्शनका आधारमा उनीहरूले विश्वकपमा स्थान पक्का गरेका हुन् । अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा ६ जना नेपाली खेलाडीले पदक जितेका थिए । उसु महासंघले पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । नेपालले दुई रजत र चार कांस्य पदकसहित कुल ६ वटा पदक जितेको थियो । रजत विजेताले १० हजार र कांस्य विजेता खेलाडीले सात हजार रुपैयाँ पाउनेछन् । नेपालले सान्सौँ विधाको एकलमा समान दुई रजत र कांस्य हात पारेको थियो ।