कीर्तिपुरमा कुकुरलाई कुटेको आरोपमा एक जना पक्राउ

काठमाडौं। काठमाडौंको कीर्तिपुरमा कुकुर कुटेको आरोपमा एक जना पक्राउ परेका छन्।

बिहीबार कीर्तिपुर नगरपालिका वडा नम्बर ५ पांगामा सामुदायिक कुकुरलाई निर्मम तरिकाले कुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जनाएको छ।

कुकुरलाई निर्मम तरिकाले कुटेको भन्दै पशु कल्याण संस्था स्नेहाज केयरले प्रहरी वृत्त कीर्तिपुरमा जाहेरी दिएको थियो। उक्त जाहेरीपछि बिहीबार नै प्रहरीले पांगा बस्ने सुरेश महर्जनलाई पक्राउ गरेको छ।

प्रहरीले घटना सम्बन्धमा प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ। घाइते कुकुर कल्याणको संरक्षणमा रहेको प्रहरीले जनाएको छ। घाइते कुकुरको आँखामा गम्भीर चोट लागेको छ।

मुलुकी अपराध संहिता २०७४ मा पशुपंक्षी सम्बन्धी कसुरमा पशुपंक्षी प्रति निर्दयी व्‍यवहार गर्न नहुने भन्ने उल्लेख छ। उक्त कसुर गर्ने वा गराउनेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

छुटाउनुभयो कि ?

TOP