काठमाडौं ।सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सेन्ट्रल प्लाजामा आगलागी भएको छ । आज विहान सेन्ट्रल प्लाजामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको उद्धार गरिएको छ ।
इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजाको पाँचौँ तलामा आगो लागेको हो । उक्त भवनमा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् । सशस्त्र प्रहरीको नं.१ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।आगलागीमा फसेकाहरूको उद्धारका लागि गृहमन्त्री रमेश लेखकले सेनाको हेलिकप्टर पठाएको मन्त्री लेखकको सचिवालयले जनाएको छ ।
नौ तलाको यो भवनमा होटेल वरन्डा, वरन्डाको रेस्टुरेन्ट, क्युएफेक्स्को सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर, पसलहरू छन्।
होटेलभित्र काठका सामग्री धेरै भएकाले आगो भित्रभित्रै फैलिएको हो। आगलागी के कारणले सुरू भएको भन्ने खुलिसकेको छैन।