काठमाडौं । सुख्खा मौसमसँगै देशभरका विभिन्न २ सय स्थानमा एकैपटक डडेलो र आगोलागी भएको छ । यसपटक समयमा नै हिउँदे वर्षा हुन नसक्दा डडेलोको प्रकोप उच्च हुने देखिएको छ । वन विभागका अनुसार माघ महिनामा मात्रै देशभरका विभिन्न २ सय स्थानका जंगल क्षेत्रमा डडेलो लागेको थियो । अहिले पनि कैयौं ठाउँमा डडेलो लाग्ने क्रम जारी छ ।
वन विभागले बताए अनुससार पानी पर्न नसकेको र सुख्खा हुने क्रम बढेकाले डडेलो लाग्ने क्रममा पनि वृद्धि भएको हो । माघ महिनादेखि हालसम्म आउँदा देशका विभिन्न भागमा २ सयभन्दा बढी ठाउँमा डडेलो तथा आगोलागी भएको जानकारी वन विभागले दिएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा पनि आगालागी भइरहेकाले यहाँको वातावरण प्रदूषित भइरहेको छ ।
काठमाडौंको दक्षिणकाली क्षेत्रमा बुधबार दिउँसोदेखि लागेको आगो बिहीबार साँझसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । जसका कारण बिहीबार दिउँसो केही समय काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित हुने चौथो सहरको रूपमा रेकर्ड भएको थियो ।
आईक्यु एयरले बिहीबार केही समय काठमाडौंलाई विश्वकै सबैभन्दा प्रदूषित सहरमध्येको चार नम्बरमा राखेको थियो । आईक्यु एयरअनुसार त्यतिखेर काठमाडौंको प्रदूषणको मात्रा १६७ रहेको थियो । यद्यपि, विभागका महानिर्देशक ढुंगानाले डडेलोका कारणमात्रै नभएर काठमाडौंमा व्याप्त धूलो तथा विभिन्न औद्योगिक क्षेत्रबाट निस्कने धूवाँका कारण वायु प्रदूषण बढेको बताउनुभयो ।
वन विभागकी भूसरंक्षण अधिकृत स्मृति रेग्मीले विशेष गरी माघ महिनामा पहाडी क्षेत्र र निकुञ्ज क्षेत्रमा डडेलो लाग्ने क्रम बढेको बताउनुभयो । रेग्मीले माघमा गोरखा, लमजुङ, जुम्ला, बझाङ, चितवन, म्याग्दी जिल्लामा अत्यधिक डडेलो लागेको जानकारी दिनुभयो ।
सरकारले डडेलो रोकथाम अभियान प्रभावकारी बनाउन र डडेलोविरुद्ध जनचेतना अभिवृद्धि गर्न नसक्दा वर्षेनी डडेलोबाट ठुलो परिमाणमा जंगल क्षेत्र विनाश हुँदै आइरहेको छ ।
संघीयताको अभ्याससँगै स्थानीय र प्रदेश सरकारको जिम्मेवारीमा वन क्षेत्रको संरक्षण गर्ने दायित्व परे पनि ती दुवै सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा वन क्षेत्रको संरक्षण हुन सकेको छैन भने वन डडेलो लाग्ने क्रममा समेत सुधार आउन सकेको छैन । यसपटक सुख्खा सिजनका कारण बढी डडेलो लाग्ने विज्ञहरूले जनाएका छन् ।