न्युयोर्क । नेपालमा थप लगानी गर्नको लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाले दक्षिण कोरियालाई आग्रह गरेकी छन् ।
संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री राणाले दक्षिण कोरियाका विदेशमन्त्री चो तेई–युलसँग भएको साइडलाइन द्विपक्षीय भेटवार्तामा दक्षिण कोरियालाई नेपालमा थप लगानी गर्न र थप पर्यटन आउनको लागि आग्रह गरेकी हुन् ।
नेपाली श्रमिक र विद्यार्थीहरुलाई दक्षिण कोरियाले भित्र्याउन खेलेको भूमिकालाई लिएर मंगलबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री राणाले धन्यवाद दिएकी हुन् ।
यस्तै, परराष्ट्रमन्त्री राणाले फिलिपिन्सका विदेश सचिव इन्रिक ए. मनालोसँग पनि साइडलाइनमा भेटवार्ता गरेकी थिइन् । उक्त अवसरमा दुई मुलुकबीचको सम्बन्ध तथा संयन्त्रहरूमार्फत सहकार्य गर्ने विषयमा छलफल भएको न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।