काठमाडौं । न्यूरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ । यो सहमतिअनुसार वडा नम्बर २४ को फुटपाथ विस्तार सम्पन्न गरिनेछ भने अरुतिर मंसिरसम्म रोकिने छ ।
मेयर, उपमेयर, प्रशासकीय प्रमुख र वडाध्यक्षहरूबीच सोमबार भएको वार्तामा वडा नम्बर २४ मा भएको फुटपाथ विस्तारलाई सम्पन्न गर्ने र यसले आर्थिक, समाजिक सांस्कृतिक र आवतजावतमा पार्ने प्रभावबारे अध्ययन गर्ने सहमति भएको छ ।
यो अध्ययन रिपोर्टका आधारमा वडा नम्बर २२ र २३ को फुटपाथबारे निर्णय हुनेछ । वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले भने, ‘२२ र २३ मा विस्तार गर्न बाँकीको हकमा सबै वस्तुस्थिति अध्ययन गरेपछि आउने निचोडलाई आधार मानेर अगाडि बढ्ने छौं ।’
उनका अनुसार अध्ययन समितिको नेतृत्व सहरी योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीले गर्नेछन् । वडा नम्बर २२, २३ र २४ का वडाध्यक्ष सदस्य हुनेछन् । वडा नम्बर २२ ले २ जना र २३/२४ वडाले एकएक जना विषयविज्ञ सदस्य दिनेछन् ।