काठमाडौं। काठमाडौं उपत्यकामा आइतबार पेट्रोलियम पदार्थको अभाव देखिएको छ। अधिकांश पेट्रोल पम्पहरू बन्द भएपछि सवारी साधनमा पेट्रोल भर्न नपाएको गुनासो सर्वसाधारणले गरेका छन्।
नेपाल आयल निगमका अनुसार शनिबारदेखि ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
उनका अनुसार चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर चलाएका छैनन्। त्यस कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन।
‘ट्यांकर चालकहरूले शनिबार कालोपट्टि बाँधेर विरोध जनाएका थिए। उनीहरूले विभिन्न माग राखेका छन्। शनिबार र आज (आइतबार) पनि ट्यांकर चलाएनन्,’ ठाकुरले भने, ‘आज पनि छलफल भयो। भोलि मन्त्रालयमा छलफल छ। टुंगो लगाँउछौं।’
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन सुरू गरेको हो। शनिबार मात्रै निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको थियो।