अछाम । कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा १३ खच्चड बीच भागमै अड्किएका छन् । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएको हो ।
स्थानीय भरत साउदका अनुसार दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार थालेएको छ ।
पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको साउदले जानकारी दिए । ‘अहिलेसम्म ३ वटा खसालिएको छ । बाँकी खच्चड पनि खसाल्न तार काटिँदै छ’, उनले भने, ‘तल नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको छ । अरु उपाय सम्भव भएन ।’
खुट्टा जालीभित्र पसेपछि आज बिहानदेखि खच्चड पुलको बीच भागमै थन्किएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको जाली लत्रिएको बताइएको छ । खट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका छन् । आज बिहान ११ बजे कर्णाली नदीमा निर्मित झोलुङ्गे पुलको दाँहिने तर्फको भाग लत्रिएको हो । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । अहिले उक्त पुलमा आवतजावत बन्द छ ।
व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए ।