बनेपामा अरनिको र हिमाल-तराई यातायातका चालकहरूबीच कुटाकुट

काभ्रे । काभ्रेको बनेपामा गाडी तेर्स्याएर सडक बन्‍द गरेपछि अरनिको र हिमाल-तराई यातायातका चालकहरूबीच कुटाकुट भएको छ।

बुधबार बिहान बनेपाको बुडोलस्थित सडकमा अरनिको यातायातका चालक र हिमाल-तराई यातायातका चालकबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरीले जानकारी दिएको छ।

दुई यातायातबीच मंगलबारदेखि नै विवाद भएको थियो। मंगलबार काठमाडौं र ओखलढुंगामा दुई यातायातका कर्मचारीबीच विवाद भएको प्रहरीले जनाएको छ।

त्यही कुरालाई लिएर बुधबार अरनिको यातायातको बागमती प्रदेश ०१-००६ ख ५५७१ नम्बरको गाडी सडकमा तेर्स्याएर अवरूद्ध गरिएको थियो।

सडक अवरूद्ध गरेपछि ट्राफिक प्रहरीले चालकलाई नियन्त्रणमा लिने क्रममा त्यहाँ अरू दुई पक्षका चालकहरूबीच कुटाकुटको स्थिति बनेको हो।

अहिले सडक खुलिसकेको प्रहरीले जानकारी दिएका छन् ।

छुटाउनुभयो कि ?

TOP