काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरिरहेका छन् ।बैठक सुरु हुनासाथ माओवादी केन्द्रसहित विपक्षी दलहरूका सांसदहरू आ-आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले संसदको नियमित कारबाही अवरुद्ध भएको करिब दुई हप्ताभन्दा बढी भएकाले आसन ग्रहण गरेर बैठक अघि बढाउन सहयोग गर्न विपक्षी दलका सांसदहरूलाई आग्रह गरेका थिए ।
बैठक अवरोधका लागि उठिरहेका प्रतिपक्षी दलका सांसदहरूले मानव तस्करलाई कारबाही गर भन्ने नारा लगाइरहेका हुन् । नाराको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद्वय सुमना श्रेष्ठ र हरि ढकालले पालैपालो गरिरहेका छन् । त्योसँगै गृहमन्त्री राजीनामा दे भन्ने नारा पनि प्रतिपक्षीहरूले लगाइरहेका छन् ।
सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेका छैनन् । तर, विपक्षी दलका सांसदहरूले सभामुख घिमिरेको आग्रहलाई स्वीकार गरेनन् र अवरोध जारी राखे । पटक-पटक आसन ग्रहण गरेर बैठक अघि बढाउन सहयोग गर्न गरेको आग्रहलाई विपक्षी दलका सांसदहरूले नमानेपछि सभामुख घिमिरेले अर्को बैठक २९ जेठ दिउँसो ३ बजे बस्ने गरी स्थगित गरेका हुन् ।