काठमाडौं । काठमाडौँको गौशालास्थित पिंगलास्थानमा बुधबार आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ । गौशालाको पिंगलास्थाननजिक बुधबार बिहान १०ः५५ मा बजे गौशालाबाट तिलगंगातर्फ जादै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।
बसले ठक्कर दिँदा अन्य सात वटा सवारी साधनमा क्षति पुगेको छ। क्षति भएका अन्य सवारीमा बा५ख ७३१ नंको हायस, बाप्र–०१–०२६च ८५७६ नं को कार, बीएसी ९७७३ नंको कार, बा१६च ४४५२ नंको कार, प्र–२–०१–००३प १००५ नंको मोटरसाइकल, बा५१प २२ नंको मोटरसाइकल, र बाप्र–०२–०४६प ४८१९ नंको स्कुटर छन् ।
घटनामा तीन जना यात्रु घाइते भएका छन्:
राजकुमार श्रेष्ठ, ३२, धादिङ ज्वालामुखी गाउँपालिका–१ निवासी (हाल टोखा, काठमाडौं)
विकास कट्टेल, २२, नुवाकोट टाडी गाउँपालिका–२ निवासी (हाल टोखा, काठमाडौं)
शैलेन्द्र राई, ३७, खोटाङ हलेसी निवासी (हाल कोटेश्वर, काठमाडौं)
तीनैजनालाई तत्काल उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। बस चालक भने घटनापछि फरार छन् र उनको खोजी भइरहेको प्रहरीले बताएको छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।