टोखा, वैशाख ३१, २०८२ — टोखा नगरपालिकाको आधिकारिक मुखपत्रका रूपमा “टोखा नगर” पत्रिकाको आज भव्य विमोचन गरिएको छ। विहान ८:३० बजे टोखा नगरपालिका वडा नं. ३ को वडा कार्यालयमा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख श्री प्रकाश अधिकारीले सामूहिक रूपमा पत्रिकाको विमोचन गर्नु भयो।

विमोचन समारोहमा बोल्दै नगरप्रमुख अधिकारीले “टोखा नगर” पत्रिकाको सुरुआतलाई एक महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गर्दै भने, “यो राम्रो सुरुआत हो। यसले टोखाको समग्र विकास यात्रालाई पत्रकारितामार्फत् उजागर गर्नु आवश्यक छ। वडा नं. १ देखि ११ सम्मका गतिविधिलाई समेट्नु पर्छ। राम्रा पक्ष मात्र नभई कमजोरीहरूलाई पनि समाचारमार्फत् खबरदारी गर्न सके पत्रिकाले निश्चित रूपमा नयाँ उचाइ हासिल गर्नेछ। म रहुन्जेल यो पत्रिकाको निरन्तर प्रकाशनमा साथ दिनेछु।”

कार्यक्रममा उपस्थित नगरपालिकाका प्रशासनिक अधिकृत श्री शेर बहादुर बिसीले पत्रिकाको प्रकाशनभन्दा पनि त्यसको निरन्तरतामा ध्यान दिनुपर्ने धारणा व्यक्त गर्दै भने, “पत्रिका निस्कनु ठूलो कुरा होइन, तर यसलाई निरन्तर प्रकाशित गर्नु भनेको ठूलो चुनौती हो। यसलाई अझ आकर्षक र प्रभावशाली बनाउन सम्पूर्ण टोलीले निरन्तर प्रयास गर्नु आवश्यक छ।”

पत्रिकाका प्रबन्ध निर्देशक श्री बाबुलाल डंगौलले “टोखा नगर” पत्रिका सामूहिक मेहनतको उपज भएको उल्लेख गर्दै भने, “यस पत्रिकाको हकदार सम्पूर्ण सम्पादक मण्डल हुनुहुन्छ। सबैले उत्तिकै जिम्मेवारीका साथ मिहिनेत गर्नु पर्नेछ। यो त सुरु मात्रै हो, यसलाई दीर्घकालीन रूपमा टिकाई राख्न हामी सबैले लगनशीलता देखाउनु पर्छ।”

कार्यक्रममा टोखा वडा नं. ३ का वडा अध्यक्ष श्री रमेश डंगौलले शुभकामना व्यक्त गर्दै पत्रिकाले वडास्तरदेखि नगरस्तरसम्मका गतिविधिलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

त्यस्तै वक्ताहरू अष्ट कुमार श्रेष्ठ, गणेशमान श्रेष्ठ, सुसनलाल श्रेष्ठ र रमेश नापितले “टोखा नगर” पत्रिकाले टोखाको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै ऐतिहासिक अध्ययनको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा राखे। उनीहरूले पत्रिकालाई ऐतिहासिक दस्तावेजको रूपमा विकास गर्न सुझाव दिँदै यसको सफलता पाठक वर्गमा आधारित हुने धारणा व्यक्त गरे।

कार्यक्रममा पत्रकार  पत्रिकाका सम्पादक हिक्मत डंगोल, सुविन्द्र श्रेष्ठ, सानुराज डंगोल लगायत वडा नं. १ देखि ११ का वडाध्यक्षहरूको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन गजराज श्रेष्ठले गरेका थिए।

टोखाको पहिचान, इतिहास, संस्कृति, विकास र नागरिक आवाजको प्रतिनिधित्व गर्ने उद्देश्यका साथ सुरु गरिएको “टोखा नगर” पत्रिका स्थानीय पत्रकारिता र अभिलेखीकरणको दिशामा ऐतिहासिक पाइला सावित हुने अपेक्षा गरिएको छ।