नाबालिग बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश

विराटनगर । नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

घरमा काम गर्न राखेकी नाबालिगलाई करणी गरेको आरोपमा मंसिरमा शिवाकोटी पक्राउ परेका थिए । तर, उनी हिरासतमा नबसी अस्पताल बस्दै आएका थिए ।

उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको संयुक्त इजलासले बिहीबार उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

एमालेबाट निर्वाचित पूर्वमेयर शिवाकोटीलाई झापा जिल्ला अदालतले २०८१ पुस २२ मा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । अस्वस्थताको कारण देखाउँदै उनी बीएण्डसी अस्पताल भर्ना भएका थिए ।

अदालतको आदेशमा ‘प्रतिवादीले पीडितलाई आफ्नो घरमा वर्षैदेखि पालनपोषण गरी विद्यालयमा अध्ययन गराई आएकोमा विगत ३ वर्षदेखि प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्दै आएको भन्ने निजको हजुरआमाको किटानी जाहेरी रहेको तर सो भन्दा अगावै यी पीडितको हजुरआमासँग निजको पटक पटक फोनमा सम्पर्क भएको र भेट्न समेत आउने गरेको भनी पीडितको मौकाको कागज रहेकोमा सो तथ्य आफ्नो हजुरआमालाई भनेको भनी निजको कागजबाट खुल्न आएको पाइँदैन’, उल्लेख छ ।

छुटाउनुभयो कि ?

TOP