साहित्यकार सीता पाण्डेको एकल कविता वाचन सम्पन्न

२०८२ वैशाख २४, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पूर्व पुरस्कार समितिकी संयोजक साहित्यकार सीता पाण्डेको हिजो एकल कविता वाचन सम्पन्न भयो ।

अनामनगर, काठमाडौंस्थित डालो रेष्टुरेन्टमा सप्पन्न भएको सो कार्यक्रममा कवि सीता पाण्डेका एक दर्जन कविता वाचन गरियो । कार्यक्रममा कवि पाण्डे स्वयंले आठ थान कविता वाचन गर्नु भयो भने कविहरु शैलेन्द्र साकार, डा.सृजना शर्मा, सुशीला शर्मा र यशोदा अधिकारीले समेत पाण्डेका कविताहरू वाचन गर्नु भएको थियो ।

विगत एक्काईस वर्षदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आउनु भएकी कवि पाण्डे नेपाल आएको अवसरमा महिला साहित्यकार समूहले सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले प्रमुख वक्ताको हैसियतमा कवि पाण्डेको साहित्यिक योगदानको चर्चा गर्दौ काव्यिक विशेषताबारे बोल्नु भएको थियो ।

प्रा.डा. भट्टराईले कवि पाण्डेका कृतिहरू सरल तर गहन हुने गरेको बताउँदै विम्बहरूको प्रयोग भएका कथा, संस्मरण र कविताहरूमा यौन विषयवस्तु उल्लेख भए पनि ती उच्छृङ्खल नभई सालिन हुने गरेको बताउँदै सीताको कृति अंग्रेजी भाषा भाषामा समेत अनुवाद भएको जानकारी गराउनु भयो ।

यसैगरी साहित्यकार प्रा.डा. कुमार कोइरालाले कवि पाण्डेको संक्षिप्त परिचय गराउनु भएको थियो । उहाँले कवि पाण्डे सर्जक मात्र नभई साहित्यिक पत्रकार, पत्रकार र खेलकुद परिषद्का कर्मचारीसमेत रहेको उल्लेख गर्नु भयो ।

प्रा.डा. कोइरालाले पाण्डेका कृतिहरू ‘असजिला खुसीहरू’ “यौन र अनुभूति” का बारेमा संक्षिप्त टिप्पणीसमेत गर्नु भएको थियो । एक बिद्रोही महिला साहित्यकारको उपमा दिदैँ उहाँले पाण्डेको’अन्तरद्वन्द्व’ कृतिको आफूले समालोचनासमेत गरेको बताउनु भयो ।

महिला साहित्यकार समूहकी संयोजक कवि रीता खत्रीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा साहित्यकार सीता पाण्डेले आफ्नो पुराना दिनहरुलाई सम्झदै आफ्नो साहित्य सिर्जनाबारे बोल्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार सीता पाण्डेलाई दोसल्ला र माला लगाएर सम्मान गरिएको थियो ।

छुटाउनुभयो कि ?

TOP