काठमाडौँ । अन्नपूर्ण क्लब (आरसिटी) ले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार रोमाञ्चक जित निकाल्दै रेलिगेसन क्षेत्र छाडेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आरसिटीले बिहीबार सरस्वती युथ क्लबमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै अंकतालिकामा सुधार गरेको हो। यो जितसँगै ९ खेलबाट आठ अंक जोड्दै आरसिटी १२औं स्थानमा उक्लिएको छ। पराजित सरस्वती समान खेलबाट ६ अंकका साथ पुछारमा झरेको छ।

आरसिटीको यो जितपछि टुसाल क्लब रेलिगेसन क्षेत्रमा झरेको छ। तर, एक खेल कम खेलेको टुसालको सात अंक छ। आरसिटीको जितमा प्रज्वल गुरुङले दुई तथा अजित गुरुङ र साजन पाख्रिनले समान एक गोल गरे। सरस्वतीका विशेष लामा, सन्देश खत्री र नरेशकुमार खत्रीले समान एक गोल गरे। अग्रता जोगाउन नसक्दा सरस्वतीले हार सामना गरेको हो।

खेलको ३६औं मिनेटमा विशेषको गोलमार्पmत सरस्वतीले अग्रता लिएको थियो। काउन्टर अट्याकबाट सरस्वतीले गोल गरेको हो। फत्तमान घलेले पेनाल्टी बक्सभित्र दिएको बललाई उनले वान भर्सेस वानको स्थितिमा गोल गरेका हुन्। चार मिनेटपछि नै अजितले आरसिटीलाई बराबरीमा ल्याए। पेनाल्टी बक्सबाहिर तीन डिफेन्डर छक्याउँदै उनले दोस्रो बार च्यापेर गरेको सट सुन्दर गोलमा परिणत भएको हो। त्यसपछि पहिलो हाफ १–१ को बराबरीमा रह्यो। दोस्रो हाफमा भने पाँच गोल भयो। सरस्वतीले दोस्रो हाफको पनि सुरुआतमा नै अग्रता बनायो। सन्देशले ५३औं मिनेटमा गोल गरे र सरस्वती २–१ ले अगाडि बढ्यो। फत्तेमानले पेनाल्टी बक्सबाट दिएको क्रसलाई उनले वान टचबाट गोल गरे। तर, फेरि सरस्वतीले अग्रता गुमायो।

६५औं मिनेटमा प्रज्वलले गोल फर्काउँदै आरसिटीलाई २–२ को बराबरीमा ल्याए। करिब  २५ यार्डबाट अजित गुरुङले गरेको फ्रिकिकलाई प्रज्वलले हेडमार्पmत गोल गरेका हुन्। त्यसको दुई मिनेटपछि नै आरसिटीले तेस्रो गोल गर्दै पहिलोपल्ट अग्रता लियो। ६७औं मिनेटमा प्रज्वलले नै व्यक्तिगत दोस्रो गोल गरे।

काउन्टर अट्याकमा प्रज्वलले पेनाल्टी बक्सबाहिरबाट गरेको सट सरस्वतीका सुरेश बिसुङ्खेले फुत्काएका हुन्। त्यसपछि आरसिटीको अग्रता ४–२ मा पुग्यो। इन्जुरी समयमा नरेशले गोल गर्दै सरस्वतीलाई खेलमा फर्काउने प्रयास गरे। तर, यो पर्याप्त बन्न सकेन। प्लानिङ ब्वाइज युनाइटेड २२ अंकका साथ लिगको शीर्ष स्थानमा छ। प्लानिङलाई श्री भगवती क्लबले १८ अंकका साथ पछ्याइरहेको छ।