Advertisement

च्याम्पियन्स ट्रफी: विराट र रोहितका लागि अन्तिम अवसर

एएफपी । च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डविरुद्ध दुबईमा प्रतिस्पर्धा गर्दा भारतका भेट्रान्स तथा स्टार खेलाडी विराट कोहली र रोहित शर्माका लागि अन्तिम अवसर पनि हुन सक्नेछ।

३६ वर्षे कोहली र ३७ वर्षे कप्तान रोहित शर्मा टेस्ट क्रिकेटमा खराब प्रदर्शनका कारण ५० ओभरको च्याम्पियन्स ट्रफीअगाडि नै कहिले संन्यास लिन्छन् भन्ने चर्चा चल्दै आएको छ। करिब १५ वर्षभन्दा बढी भारतीय टोलीमा महत्त्वपूर्ण सदस्य रहँदै आएका यी दुई स्टारले गत वर्ष विश्वकप जितेपछि टी ट्वान्टी क्रिकेटबाट संन्यास लिइसकेका छन्।

यसै हप्ता नै रोहित र विराटले एकदिवसीय क्रिकेटबाट पनि संन्यास लिन सक्छन्। किनकि अबको एकदिवसीय विश्वकप २०२७ मा नै हुनेछ। त्यसैले यो फरम्याटको ठूलो प्रतियोगितामध्ये एक रहेको च्याम्पियन्स ट्रफी नै विराट र कोहलीका लागि राम्रो अवसर हुनेछ।

‘रोहितको कप्तानीमा यसपल्ट भारतले उपाधि उचाल्छ भन्ने मलाई विश्वास छ। यसपछि उनीसँग अर्को आइसिसीको उपाधि पनि हुनेछ,’ भारतका पूर्व तीव्र गतिका बलर प्रवीन कुमारले भने, ‘विराट र रोहितले संन्यास लिनुअगाडि अर्को पनि आइसिसीको उपाधि दिलाउँछन् भन्नेमा म विश्वस्त छु।’

त्यसमाथि भारत दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने फाइनलमा प्रतिस्पर्धा गर्नुअगाडि उच्च आत्मबल र बलियो दाबेदारका रूपमा खेल्ने पक्का छ। किनकि भारतले आठ राष्ट्र सम्मिलित प्रतियोगितामा यसअघिका चारवटै खेल जितेको छ। त्यसमध्ये एक न्युजिल्यान्डविरुद्ध नै ४४ रनको जित हो। दुवै टोली सेमिफाइनल पुगिसकेको अवस्थामा यी दुईले प्रतिस्पर्धा गरेका हुन्।

पाकिस्तानसँग राजनीतिक रूपमा द्वन्द्व रहेकाले पनि भारतलाई यस प्रतियोगितामा फाइदा पनि मिल्यो। भारतले आयोजक पाकिस्तान जान नमानेपछि रोहितको कप्तानीमा रहेको टोलीले सबै खेल दुबईमा नै खेलेको हो। त्यस्तोमा फाइनल पनि दुबईमा हुने भएकाले भारत पिचका बारे बढी जानकार छ।

रोहित र विराट यो प्रतियोगिताअगाडि निकै दबाबमा थिए। तर, मास्टर क्लास ब्याट्सम्यान विराटले कट्टर प्रतिद्वन्द्वी पाकिस्ताविरुद्ध अविजित शतकीय इनिङ खेल्दै आफ्ना आलोचकहरूलाई राम्रो जबाफ दिए। त्यसपछि उनले सेमिफाइनलमा पनि डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाविरुद्ध ८४ रनको विजयी इनिङ खेले।

रोहितको भने सर्वाधिक ठूलो योगफल ४१ रन हो, जुन उनले बाङ्लादेशविरुद्ध उद्घाटन खेलमा जोडेका थिए। तर, ब्याटिङमा कठिन मानिएको स्थानमा टोलीको ठूलो स्कोर बनाउन नेतृत्व गरिरहेकाले रोहितका आलोचक पनि शान्त देखिएका छन्। त्यसले पनि रोहितका लागि ठूलो अवसर फाइनलमा प्राप्त हुनेछ।

भारत तेस्रोपल्ट च्याम्पियन्स ट्रफीको उपाधि उचाल्दै कीर्तिमान रच्न चाहन्छ। विश्वस्तरीय स्पिनरको साथ पनि रहेकाले भारतका लागि अर्को ठूलो आत्मबल पनि हुनेछ। न्युजिल्यान्डविरुद्ध जित निकाल्दा भारतले चार स्पिनर प्रयोग गरेको थियो। जहाँ वरुण चक्रवर्थीले ५/४२ को उत्कृष्ट प्रदर्शन गरे र २५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड २०५ रनमा नै रोकियो।

भारत अस्ट्रेलियाविरुद्ध पनि स्पिनमा नै केन्द्रित भयो र आफ्नो योजनालाई निरन्तरता दिएको थियो। तर, यसपल्ट भने भारतको योजना सफल नभए पनि जित प्राप्त भयो। यद्यपि, न्युजिल्यान्डले पनि फाइनलमा भारतविरुद्ध बदला लिने लक्ष्य लिएको छ।

सन् २००० को फाइनलमा पनि भारतलाई हराउँदै न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीको उपाधि उचालेको थियो। त्यो च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण पनि थियो, जसलाई मिनी विश्वकपका रूपमा लिने गरिन्छ। यसपल्ट पनि यही नतिजा दोहार्‍याउने लक्ष्यमा छ, न्युजिल्यान्ड। ब्ल्याक क्याप्सको नामले पनि परिचित न्युजिल्यान्डसँग त्यो क्षमता पनि रहेको छ।

लाहोरमा भएको सेमिफाइनलमा बलियो दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले आफूलाई बलियो प्रतिद्वन्द्वीको रूपमा पनि उभ्याएको छ। तर, न्युजिल्यान्ड चोटको समस्यामा पनि छ। उसका उत्कृष्ट तीव्र गतिका बलर म्याट हेनरी चोटमा छन्। क्याच लिने क्रममा उनको काँधमा चोट लागेको थियो।

हेनरीले भारतसँगको खेलमा पनि ५/४२ को उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी अभैm फाइनलमा खेल्ने या नखेल्ने भन्नेमा टोलीले स्पष्ट पारेको छैन। ‘अहिले नै उनको अवस्था के हो भन्न सकिँदैन,’ न्युजिल्यान्डका हेड कोच ग्यारी स्टिडले भने, ‘जसरी उनी क्याच लिने क्रममा लडे, उनको काँधमा केही समस्या भयो। आशा गरौं, उनी फाइनलमा ठीक हुनेछन्।’

न्युजिल्यान्डको ब्याटिङमा प्रमुख हतियार रचिन रवीन्द्र हुन्। जसले सेमिफाइनलमा १०८ रनको उत्कृष्ट इनिङ खेलेका थिए। उनकै प्रेरणामा न्युजिल्यान्डले गद्याफी स्टेडियममा ३६२ रनको कीर्तिमानी इनिङ खडा गरेको हो। यस क्रममा उनले भेट्रान ब्याट्सम्यान केन विलियम्सनसँग १६४ रनको साझेदारी पनि गरेका थिए।

बलिङ पनि गर्न सक्ने रचिनले तीन खेलमा नै २२६ रन जोडेका छन्। त्यसैले भारतका लागि उनी चुनौती बन्न सक्नेछन्। २५ हजार क्षमता रहेको दुबई स्टेडियममा भारत बलियो दाबेदार मानिए पनि सहज भने छैन। किनकि न्युजिल्यान्ड पनि बलिङ र ब्याटिङमा उत्कृष्ट छ। गत वर्ष मात्र न्युजिल्यान्डले भारतमा नै घरेलु टोलीलाई टेस्ट क्रिकेटको शृंखलामा ३–० ले हराउँदै अप्रत्याशित नतिजा निकालेको अवस्था छ।

छुटाउनुभयो कि ?

TOP