कांग्रेस महामन्त्रीले ल्याए भ्यालेन्टाइन्स गीत ‘मन त्यतै कतै’
mediadainik.com
२०८१ फाल्गुन २ गते
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्यालेन्टाइन्स डेको अवसरमा नयाँ गीत ‘मन त्यतै कतै’ ल्याएका छन् । शर्माको युट्युव च्यानलमा सार्वजनिक गीतमा हृदयस्पर्शी प्रेमभाव प्रस्तुत छ ।
शर्माको संगीत रहेको गीतमा प्रमोद खरेलको स्वर, प्रमोदहरि गुरागाईँका शब्द, मनोहर सुनामको संगीत संयोजन छ । निकेश खड्का निर्देशित भिडियोमा आकाश श्रेष्ठ र प्रियाना आचार्य फिचर्ड छन् ।
यो गीतको रेकर्ड चाहिँ गत बैशाख अन्त्यमा नक्सालस्थित साउन्ड डिजाइन स्टुडियोमा गरिएको थियो । गीत रेकर्डपछि गायक खरेलले भनेका थिए– राजनीतिभन्दा पर बसेर गीतसंगीतमा उहाँको लगाव लोभलाग्दो छ । विश्व दाइको संगीतमा मीठो गीत रेकर्ड भयो ।’
संगीत र साहित्यमा समेत रुचि भएका राजनीतिज्ञ शर्माले यसअघि दलित सचेतना प्रेरित गर्ने गीत पनि रेकर्ड गराएका छन् । शिव परियारको स्वर रहेको उक्त गीतमा मीन विश्वकर्माका शब्द छन् ।
विश्वप्रकाशले यसअघि पनि आफ्नो संगीतमा केही गीत रेकर्ड गराएका छन् । नेपाल जेसिजको एल्बममा बज्ने गीत उनैले संगीत गरेका हुन् । भूकम्पको त्रासदीको समयमा उनले ‘स्वीकृति’ बोलको गीत पनि ल्याएका थिए, जसमा शिशिर योगीको स्वर छ ।
लकडाउनको समयमा ‘आऊ माया गरौं, प्रकृतिलाई रक्षा गरौं, महामारीबाट संसारलाई जोगाऊँ’ बोलको गीत रिलिज गरेका थिए । यो गीतलाई शीतल मोक्तानले गाएकी थिइन् । यो गीत नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको थियो ।