काठमाडौं । काठमाडौं महानगरका मेयर समेत रहेका र्यापर बालेनले बुधबार बेलुका आफ्नो चर्चित गीतलाई एक टिभी कार्यक्रममा प्रस्तुति दिँदै गर्दाको भिडियो फेसबुकमा सेयर गरे ।
आफूद्वारा संगीतबद्ध ‘बलिदान’को गीतलाई पुनः सेयर गरेपछि यो गीत एकाएक पुनः भाइरल बन्यो । बालेनको यो गीत ५ वर्षअघि युट्युवमा रिलिज भएको थियो । यो गीतले यतिबेला पुनः चर्चा पाएको छ ।
बालेनले यो गीतलाई फेरि सेयर गर्नु पछाडिको समय र सन्दर्भलाई अर्थपूर्ण मानिएको छ । गीत सेयर गर्नुको केही घण्टाअघि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले दर्ता गर्न नआए फेसबुक इन्स्टाग्रामलाई प्रतिबन्ध गरिने बताएका थिए । सरकारले ल्याएको सामाजिक संजाल विधेयकको पनि यतिबेला विरोध भैरहेको छ ।
बालेनले ‘बालिदान’ गीतमार्फत सरकारलाई सन्देश दिन खोेजेको अर्थमा धेरैले अनुमान गरे । किनभने, गीतको बोल नै थियो- मलाई बोल्न दे सरकार ।’
बालेनले उक्त गीत पुनः सेयर गरेपछि यतिबेला सामाजिक संजालमा यो गीत पुनः एकपटक भाइरल बनेको छ । उनका प्रशंसकले टाइमलाइनमा गीतलाई सेयर गरिरहेका छन् भने युट्युवमा गीतको भ्यूज पनि शुक्रबार दिउँसोसम्म १ करोड २ लाख नाघेको छ । बालेनले सेयर गर्नुअघि गीतको भ्यूज १ करोड पनि पुगेको थिएन ।
स्पोटीफाइमा समेत यो गीतलाई सुन्नेको संख्या ५ लाख २२ हजार ४४४ नाघेको छ । स्पोटीफाइमा श्रोताको संख्या वृद्धि भएको पनि देखिएको छ ।