काठमाडौं । चर्चित लोकपप ब्याण्ड ‘नेपथ्य’लाई यस सातादेखि पाठकले पढ्न पाउने भएका छन् । ३ दशक लामो इतिहास बोकेको पोखरेली सांगीतिक समूहबारे पाठकले किताबमार्फत विस्तृत जान्न पाउनेछन् ।
प्रकाशन गृह नेपालयले यस सातादेखि नेपथ्यबारेको पुस्तक पाठकमाझ पुग्ने जनाएको छ । गायक अमृत गुरुङसँगको लामो संगतमा लेखक गिरीश गिरीले यो पुस्तक तयार पारेका हुन् ।
बजार व्यवस्थापनमा नयाँ प्रयोग थालनी गरिएको यस किताबलाई यसअघि ’अनलाइन प्रि-अर्डर’मार्फत घरघरमै उपलब्ध गराउने चरण सम्पन्न भइसकेको छ ।
‘प्रि-अर्डरलाई व्यवस्थापन गर्ने जिम्मेवारी हामीले पाएका थियौं,’ अनलाइनमार्फत किताब बेचबिखनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको थुप्रै डटकमका राजु गोतामे भन्छन्, ‘आजसम्मै अनलाइन प्रि-अर्डरबाट हामीले बेचेको सबैभन्दा धेरै किताबको रेकर्ड यस पुस्तकले राख्न सफल भइसकेको छ ।’
दुई सातामै एक हजारभन्दा बढी प्रति पुस्तक बिक्री भएको जनाइएको छ । पुस्तकमा नेपथ्यको जन्म, विभिन्न कालखण्डमा यसको उन्नति र अवनतिदेखि गीतको खोजीमा गरिएका संघर्षहरूको बेलिबिस्तार पढ्न सकिन्छ ।
अनलाइन बिक्रीको अध्यायसँगै अब स्वदेश र विदेशका विक्री केन्द्रमा पुस्तक उपलब्ध हुने जनाइएको छ । सांगीतिक टोली ‘नेपथ्य’ र व्यवस्थापन समूह ‘नेपालय’को सहकार्य भएको २५ वर्षको छेकोमा पुस्तकलाई ‘पब्लिकेशन नेपालय’ले प्रकाशन गरेको हो । त्यसैले यस किताबको आगमनलाई ‘२५ मय’ बनाइएको छ ।
पुस्तकको बजारमा प्रवेश गर्ने दिन पनि दोस्रो महिना (फेब्रुअरी)को पाँच तारिखलाई नै तय गरिएको छ । बुधबारका दिनदेखि पुस्तक सर्वत्र उपलब्ध हुनेछ ।
‘नेपथ्यको पुस्तक एउटा ब्याण्डको जीवनी मात्र नभई तन्नेरी सपनाहरूका संघर्षको कथा पनि भएकोले युवा पुस्ताका लागि यो प्रेरणादायी हुनसक्छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘सम्पूर्ण पाठकहरुका लागि अब प्रतीक्षाको घडी समाप्त भएको छ ।’
साढे तीन सय पृष्ठको यस किताबलाई आठ सय १५ रुपैयाँ मूल्य तोकिएको छ । नेपाल बाहिर रहेका पाठकहरुको निम्ति यसलाई इबुक र अमेजनमार्फत पनि उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।