भारतमा लोकसभाको चुनावमा ११ कलाकार विजयी

काठमाडौं । भारतीय लोकसभा चुनाव २०२४ नतिजा सार्वजनिक भएको छ । यसपटक १५ जना सेलिब्रेटीले लोकसभा चुनाव लडेका थिए, जसमध्ये ११ जना सेलिब्रेटीले जित्न सके ।

चुनाव जित्नेमा कंगना रनौत, हेमा मालिनी, शत्रुघ्न सिन्हा, रवि किशन, मनोज तिवारी जस्ता नाम समावेश छन् । भोजपुरी स्टार पवन सिंह र निरहुआ नराम्रोसँग पराजित भए ।

हेमा मालिनी निकटम प्रतिद्वन्द्वीभन्दा २ लाख ९३ हजार ४०७ मतले विजयी रहिन् । राज बब्बर र निरहुआ जस्ता कलाकार पराजित भए । ड्रिम गर्ल हेमा मालिनीले उत्तर प्रदेशको मथुरा सिटबाट भाजपाको टिकट पाएकी थिइन् । उनीविरुद्ध कांग्रेस नेता मुकेश धनगर थिए ।

हिमाञ्चल प्रदेशको मण्डीबाट भाजपाको टिकट पाएकी अभिनेत्री रनौतले कांग्रेस नेता विक्रमादित्य सिंहलाई पराजित गरिन् । उनले ७४ हजार ७५५ मतान्तरले सिंहलाई हराइन् ।

तृणमूल कंग्रेसको तर्फबाट अभिनेता शत्रुघ्न सिन्हाले पश्चिम बंगालको आसनसोल सिटबाट भाजपा नेता एसएस अहलुवालियालाई ५९ हजार ५६४ मतले पराजित गरेका छन् ।

चर्चित टेलिभिजन शो ‘रामायण’मा श्रीरामको भूमिका गरेर चर्चित बनेका अभिनेता अरुण गोविल उत्तर प्रदेशको मेरठबाट विजयी भए । भाजपाको टिकटमा चुनाव लडेका अरुण गोविलले सपा नेता सुनिता वर्मालाई १० हजार ५८५ मतले हराए ।

अभिनेता तथा पार्श्वगायक सुरेश गोपीले केरलाको त्रिशूर सिटबाट चुनाव जिते । उत्तरपूर्वी दिल्लीको सिटमा भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार मनोज तिवारीले कांग्रेस नेता कन्हैया कुमारलाई पराजित गरे । मनोज १३ हजार ७७८ मतले विजयी भए ।

उत्तर प्रदेशको गोरखपुर सिटबाट भोजपुरी स्टार रवि किशनले समाजवादी पार्टीकी नेतृ काजल निषादलाई पराजित गर्दै विजयी भए । अभिनेत्री सयोनी घोषले पश्चिम बंगालको जादवपुरबाट चुनाव लडेकी थिइन् । उनले भाजपा नेता अनिर्बान गांगुलीलाई २ लाख ५८ हजार २०१ मतले पराजित गरिन् ।

बंगाली फिल्मकी अभिनेत्री शताब्दी रोयले भाजपा नेता देवतनु भट्टाचार्यलाई ठूलो अन्तरले पराजित गरिन् । उनले तृणमूल कांग्रेसको टिकटमा पश्चिम बंगालको वीरभूमबाट चुनाव लडेकी थिइन् ।

बंगाली अभिनेत्री रचना बनर्जी पश्चिम बंगालको हुगली सिटमा विजयी भइन् । उनले तृणमूल कांग्रेसको तर्फबाट चुनाव लडेकी थिइन् । उनीविरुद्ध अभिनेत्री तथा राजनीतिज्ञ लकेट चटर्जीले चुनाव लडेकी थिइन् ।

बंगाली फिल्ममा देव भनेर चिनिने अभिनेता दीपक अधिकारीले पनि पश्चिम बंगालको घाटाल सिटबाट चुनाव जितेका छन् । तृणमूल कांग्रेसको तर्फबाट चुनाव लडेका उनले भाजपा नेता हिरण्मय चट्टोपाध्यायको सामना गरिरहेका थिए ।

छुटाउनुभयो कि ?

TOP