धरान । फिल्म ‘ऊनको स्वीटर’ले विहीबार साँझ यहाँ भव्य सांगीतिक कार्यक्रम गर्‍यो । यो प्रवर्धन प्रस्तुतिमा गायक सुजन चापागाईं गुञ्जिए । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको प्रचारप्रसारको लागि कन्सर्ट गरिएको थियो ।

धरान रङ्गशालामा आयोजित कन्सर्टमा ६ हजारभन्दा बढी दर्शकको सहभागिता रहेको निर्माताको भनाइ छ । कन्सर्टमा सहभागी हुन् पाँचथरको फिदिमदेखि धरानसम्मको २०० किलोमिटर बाटोमा मोटरसाइकल र्‍यालीमार्फत दर्शक आए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा लगायतका जनप्रतिनिधि पनि कन्सर्टमा सहभागी रहे । कलाकार विपिन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बु, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायिका झुमा लिम्बु र गीतकार युवराज काफ्लेलाई नगरप्रमुख साम्पाङले स्वागत गरे ।