दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आबद्ध सामुदायिक विद्यालयका शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रमार्फत आइतबार देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको हो ।

शिक्षामन्त्री सुमना श्रेष्ठले वैशाख ४ मा दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने निर्णय गरेसँगै केन्द्रले त्यस्ता शिक्षकलाई हटाउन ७७ वटै जिल्लाका इकाइलाई पत्राचार गरेको हो । केन्द्रका शाखा अधिकृत हरिबहादुर श्रेष्ठले गरेको पत्राचारमा पदबाट हटाएको जानकारी मन्त्रालयमा पठाउन भनिएको छ । कारबाहीमा आवश्यक सहयोग र सहजीकरणका लागि ७ सय ५३ वटै स्थानीय तहलाई बोधार्थसमेत पठाइएको छ ।

मन्त्रालयले राजनीतिक दलमा सक्रिय शिक्षकका विषयमा उजुरी गर्न आग्रहसमेत गरेको छ । केन्द्रले उजुरीका आधारमा कारबाही प्रक्रियालाई निरन्तरता दिन इकाइहरूलाई निर्देशन दिएको हो । मन्त्रालयमा हालसम्म परेका उजुरीहरू समेत कारबाहीका लागि सम्बन्धित जिल्लाका इकाइमा पठाइएको शिक्षामन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । १२ जना शिक्षकलाई कारबाहीको सिफारिस गरिएको मन्त्रालय स्रोतले जनाएको छ, जसमा राजनीतिक दलको जिल्ला उपाध्यक्ष रहेका शिक्षकसमेत छन् ।

छुटाउनुभयो कि ?

TOP