पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रव मच्चाउनका लागि पाँचबुँदे सहमति भएको’ दाबी गरेका छन् । फौजदारी न्याय सिद्धान्तमा आरोप जसले लगाउँछ, प्रमाणको भार पनि उसैमा निहित हुन्छ । तर, एमाले अध्यक्ष ओलीले भने यो आरोपको ‘फ्याक्ट’ चेक गर्ने जिम्मा आफूले नलिई ज्ञानेन्द्र र प्रचण्डलाई नै छाडेका छन् ।
एमाले अध्यक्ष ओलीले बुधबार पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै भने, ‘साथीहरूलाई बताऊँ, प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर, सहमतिका साथ उपद्रव भएको थियो । त्यसपछि ०६० साल मङ्सिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति गरेर…, के सहमति भएको थियो त्यो ? कि ज्ञानेन्द्रले कि त प्रचण्डले भन्नुपर्यो नि । के सहमति भएको थियो ? कसका विरुद्ध सहमति भएको थियो ?’
ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएपछि ज्ञानेन्द्रले देशव्यापी अभिनन्दन कार्यक्रम चलाएको ओलीले बताए । उनले भने, ‘त्यो सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए देशव्यापीरुपमा । लोकतान्त्रिक शक्ति रुकुम, रोल्पामा पाइलो टेक्न नसक्ने, नेताहरू जान नपाउने, त्यहाँ भएका नेताहरू मारिने । ज्ञानेन्द्र जाने र त्यहाँ धूमधाम स्वागत हुने । विराटनगर, यहीँ काठमाडौँमा पनि हामीले देख्यौँ, थापाथलीदेखि हिँडेर मंगलबजारसम्म उधुम स्वागत । को थिए स्वागत गर्ने ?’
शपथ ग्रहण गरेका केन्द्रीय सदस्यहरूलाई आगामी कार्यभारबारे निर्देशन दिने क्रममा केपी ओलीले नेपाली काँग्रेसलाई खराब तत्त्वहरूको साँठगाँठमा लागेको आरोप लगाए । उनले काँग्रेसलाई सच्चिन आग्रह गरे । ओलीले भने, अस्थिरताका निम्ति औजार भएका व्यक्तिहरू क्रियाशील छन् । त्यस्तो कुरालाई प्रयोग गर्न पुरानो इतिहास बोकेको नेपाली काँग्रेस (लागेको छ) । तर, नेपाली काँग्रेसको इतिहास पनि के हो भने सधैँ बाहिरबाट हतियार ल्याउने । नेपाली काँग्रेसले अहिलेसम्म खराब तत्त्वसँग साँठगाँठ गर्ने र देशभक्त र अग्रगामी, प्रगतिशील, वामपन्थी शक्तिका विरुद्ध जाइलाग्ने । सधैँ नेपाली काँग्रेसको नीति त्यही रह्यो ।’
अध्यक्ष ओलीले आगामी चुनावमा वामपन्थी शक्तिसँग एकता वा तालमेल होला कि भन्ने आफ्नै पार्टीका नेताहरूको आशालाई ‘भ्रम’को संज्ञा दिएका छन् । ओलीले सम्बोधनमा प्रष्ट शब्दमा भने, ‘अझै कतिपय साथीहरूमा कम्युनिस्ट एकता भन्ने छ । प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी, अस्थिरताका संवाहक तत्त्वहरू हुन् । कुनै भ्रम राख्नुपर्दैन, त्यस्ताहरूसँग एकता गरेर कहीँ पुगिन्छ ? त्यो एकीकरण सम्भव नै छैन ।’ ओलीको सम्बोधनको सम्पादित अंश
अहिले राष्ट्र दुई ध्रुवमा विभाजित हुँदै गएको छ । यसलाई अलि समन्वयात्मक ढङ्गले सुव्यवस्था, सुशासन र समृद्धि तर्फका हाम्रा प्रयासहरूमा सिङ्गो देश केन्द्रित हुनुपर्दथ्यो । स्थिरता र स्थायित्वतर्फ सिङ्गो देश केन्द्रित हुनुपर्दथ्यो तर, भएन । भएको छैन र त्यतापट्टि जाने स्थिति पनि देखिँदैन । किनभने, अस्थिरता मच्चाउन खोज्ने शक्तिहरू क्रियाशील छन् । नियन्त्रित अस्थिरता । खुलस्त भनिरहेका छन् कतिपय शक्तिहरूले नियन्त्रित अस्थिरता हाम्रो नीति हो नेपालको सन्दर्भमा । त्यो भनिरहेका छन् र त्यसका लागि ती कामहरू गर्ने शक्ति यहाँ छन् । नियन्त्रित अस्थिरताका संवाहकहरू । अस्थिरता मात्रै सिर्जना गर्न खोज्ने ती शक्तिहरू छन् ।