काठमाडौं ।नेकपा एमालेले जसरी पनि चुनाव जित्ने रणनीति अन्तर्गत काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा १०११ जनाको निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ ।
१६ नम्बर वडाको पार्टी कमिटी अध्यक्ष जयप्रकाश श्रेष्ठको अध्यक्षतामा टिम निर्माण गरिएको हो । यही मंसिर १६ मा हुने उपनिर्वाचन जित्ने रणनीतिस्वरुप काठमाडौं महानगरपालिका–१६ मा यहीँ २६ गते भव्य चुनावी सभा तथा उम्मेदवार घोषणा कार्यक्रम सम्मन्न भइसकेको छ । जसमा नेकपा एमालेले अध्यक्ष पदको उम्मेदवारमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवारको घोषणा गरेको छ ।
यतिबेला १६ नम्बर क्षेत्रमा चुनावी मैदानमा एमाले मात्रै देखिएको छ । एमालेले घरदैलो अभियानसमेत सुरु गरिसकेको छ ।
यो चुनावमा भारी मतले लक्ष्मीरत्न तुलाधरलाई जिताएर देशभरी नयाँ सन्देश दिने एमालेको रणनीति देखिन्छ । त्यसैअनुरुप एमालेले कामनपा– १६ को उपनिर्वाचनमा सर्वसम्मतीमा पुराना, पाका र वैचारिक नेता लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार उठाएको छ ।
गत निर्वाचनमा चार सदस्य जितेर पनि अध्यक्षमा पराजित भएको एमालेले यो चुनावलाई अवसरको रुपमा हेरेको छ । साथै काठमाडौंका सबै नेता–कार्यकर्ता १६ नम्बर वडामा केन्द्रित भएका छन् ।
विविध कारणले रिक्त बनेका स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले स्थानीय तहका विभिन्न ४४ रिक्त पदमा उपनिर्वाचन गर्न लागेको हो ।