काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग गरेको छ।
सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद सोबिता गौतमले नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने बताएकी हुन्।
उनले भनिन् ‘सुशासनका मुद्दामा हामी सरकारलाई सहयोग गर्न चाहन्छौं। प्रारम्भमै सरकारबाट हामी के अपेक्षा गर्छौं भने, मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनुस्। यो नियमअनुरूप नै हामीले गर्नुपर्ने हुन्छ, त्यसकारण मन्त्रीहरूबाट अपेक्षा गर्छु।’
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै गौतमले संविधानले व्यवस्था गरेअनुरूपको महिला, दलित लगायतको प्रतिनिधित्व नभएको बताएकी छिन।
उनले भनिन्, ‘संविधानले सुनिश्चत गरेको व्यवस्थासमेत सरकारले मानेको देखिएन । सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो ?’
सांसद गौतमले स्वार्थको द्वन्द्व हुनेखालको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको उल्लेख गर्दै यसप्रति पनि सरकारको जवाफ माग गरिन् । उनले भ्रष्टाचारको मुद्दामा नाम मुछिएर छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा गर्न नसकिने बताइन् ।
सांसद गौतमले मन्त्रीहरूलाई आफ्नो सम्पत्ति विवरण तत्काल सार्वजनिक गर्न पनि आग्रह गरिन् ।