रास्वपा महामन्त्री ढकाल निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो।

केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेकाले सात दिनका लागि निलम्बन गरिएको रास्वपाले जनाएको छ। रास्वपाको कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई तोकिएको छ भने प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिएको छ।

त्यस्तै रास्वपाले ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।

महामन्त्री ढकाल बुधबारको बैठकमा मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए। उनले नै तयार पारेको प्रतिवेदनमाथि रास्वपामा दिनभर छलफल भएको थियो। निलम्बनमा परेपछि महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई कारबाही गरेको गुनासो गरेका छन् ।

ढकालले पार्टीमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई थोपरेको र आफू विभिन्न मुद्दामा मुछिँदा पनि पार्टीमा हक जमाएर बसेको आरोप लगाउँदै आएका छन्।

छुटाउनुभयो कि ?

TOP