काठमाडौं । प्रधानमन्त्री प्रचण्ड भारतका समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा उनको शपथ ग्रहण समारोहमा सहभागी हुन आज भारत जाँदैछन् ।
तेस्रोपटक भारतको प्रधानमन्त्री बनेका मोदीले आइतबार साँझ शपथ लिँदैछन्।
प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो एक बजे भारत प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले जानकारी दिए।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा जाने निर्णय गरेको थियो। प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबीच आइतबार नै भेटवार्ताको कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाने बताइएको छ ।
प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।