काठमाडौँ । राजावादी राजनीतिक दल र शक्तिहरू अन्ततः पूर्वपञ्च नेता नवराज सुवेदीकै नेतृत्वमा आएका छन्। बिहीबार आयोजना गरिएको जनआन्दोलन घोषणा सभामा अन्तत सबै राजावादीहरु सुवेदीकै छत्रछहारीमा आएका हुन।

यसअघि राजसंस्था पुनर्वहालीका लागि आन्दोलन गर्न भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले संयुक्त जनआन्दोलन समिति बनाएर त्यसको संयोजक पूर्वपञ्च नेता सुवेदीलाई सुम्पेका थिए। त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले चित्त बुझाएका थिएनन्। उसो त राप्रपा अध्यक्ष थापाले पछि मौका छोपेर समर्थन गरेका थिए।

तर बिहीबारको सभामा भने लिङ्देन र थापा दुवै सुवेदीसँगै मञ्चमा उभिएर नेता मानेका छन्।

‘यो आन्दोलनको संयोजन र परिचालन वरिष्ठ राजनीतिज्ञ नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिमार्फत हुनेछ,’ सोही मञ्चबाट सुवेदीले घोषणा गरे, ‘हामी सबै दल र समूहहरु संयुक्त जनआन्दोल समितिमा आवद्ध रही आन्दोलन सफल गर्ने संकल्प गर्दछौँ।’

१५ गतेदेखि अनिश्चितकालीन आन्दोलन 

राजावादीहरुले जेठ १५ गतेको गणतन्त्र दिवसकै अवसर पारेर अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्।

‘संविधानद्वारा पदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिको निम्ती सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ,’ घोषणा सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले भने।

आन्दोलन शान्तिपूर्ण हुने तथा भद्र अवज्ञा र सत्याग्रह आन्दोलनका स्वरुप हुने उनले बताए।

तीन सूत्रीय माग

राजावादीहरुले तीन सुत्रीय माग पनि जारी गरेका छन्। जसमा पहिलो सबै विचारधारा र शक्ति अटाउने संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको स्थापना, दोस्रो सर्वधर्म, समभाव, पूर्ण धर्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको स्थापना र तेस्रो केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यताअनुरुप अहिलेको भन्दा बढी अधिकारसम्पन्न स्थानीय सरकार स्थापना गरी दुई तहको सरकार रहेको सुवेदीले बताए।

दलसँग सहमतिको अपेक्षा  

राजावादी आन्दोलन घोषणा सभामा सुवेदीले राजनीतिक दलसँग सहमति र समझदारीको अपेक्षा पनि गरे ।

‘हाम्रो घोषणा राजनीतिक दलहरुले चाहने हो भने उपरोक्त उद्देश्यहरु सहमति र समझदारीकै आधारमा वर्तमान संविधानकै परिधिबाट हासिल हुन्छ,’ उनले भने। उनले आफ्नो आन्दोलन दल वा सरकारका विरुद्ध नभई निरंकुशता र सर्वसत्ताबादको अन्त्य गरी सार्वभौमसत्ता सम्पन्न जनताकै अधिकारका लागि भएको दाबी गरे।

लिङ्देन कसरी आए ‘साइज’मा?  

कमल थापालाई हराउँदै राप्रपाको अध्यक्ष जित्दा लिङ्देनलाई निर्मल निवास(ज्ञानेन्द्र)को साथ थियो। त्यसअघि राजवादी अजेन्डामा चुनावी मत संकलन गरेर सरकारमा गएको तर मुद्दा भुलेको भन्दै ज्ञानेन्द्र थापासँग असन्तुष्ट थिए। सोहीकारण उनले लिङ्देनलाई साथ दिएको राप्रपावृत्तमा चर्चा छ।

२०७९ को निर्वाचनपछि भने लिङ्देनमाथि त्यस्तै आरोप लाग्यो। लिङ्देन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागि भएपछि ज्ञानेन्द्र असन्तुष्ट बनेका थिए। जसको फाइदा विवादित व्यवसायी दुर्गा प्रसाईँले लिए।

पछिल्लो समय लिङ्देनलाई बाइकट गरेर नै ज्ञानेन्द्रले सुवेदी र प्रसाईँलाई नेता बनाएको बताइन्छ। तीनकुनेमा भएको हिंसात्मक आन्दोलन सुवेदी संयोजक रहेकै संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा भएको थियो। यद्यपि त्यसको जनकमान्डर भनेर विवादित व्यवसायी प्रसाईँलाई तोकिएको थियो।

त्यो दिनको बबन्डरपछि राजावादी आन्दोलन लगभग असफल भयो, ज्ञानेन्द्रका पासा फेल भयो।

त्यसपछि वैशाखको पहिलो साता लिङ्देनसहित राप्रपाका सातभाईलाई निर्मल निवास डाँकेर ज्ञानेन्द्रले ‘लन्च मिटिङ’ गराएका थिए। सोही क्रममा राजावादी शक्तिहरुबिच एकता नभएको भन्दै असन्तुष्टि पनि पोखेका थिए।

पछिल्लो समय एकसाताअघि राप्रपा नेपालका अध्यक्ष कमल थापाले रत्नपार्क भेला गरेर सबै राजावादी शक्तिलाई एक ठाउँमा उभ्याएका थिए। सोही क्रममा उनले सुवेदीलाई नेता मानेर जाँदा फरक नपर्ने भन्दै लिङ्देनलाई सन्देश दिएका थिए।

पछिल्लो समय निर्मल निवासको दबाब र राजावादी शक्तिहरु एकीकृत भएर आफू एक्लो हुने खतरा बढेपछि लिङ्देनले सुवेदीको नेतृत्व स्वीकारेका छन्।