काठमाडौं । रोयल्टीलाई लिएर संगीत वितरक युनिभर्सल म्युजिक ग्रुप र टिकटकबीचको विवाद सामाधान भएको छ । यो सहमतिसँगै टिकटकबाट हटाइएका टेलर स्वीफ्ट र रिहानाका गीत पुनः फर्किएका छन् ।
आगामी साता गायिका स्वीफ्टको बहुप्रतीक्षित नयाँ एल्बम ‘द टर्टर्ड पोएट्स डिपार्टमेन्ट’ रिलिज हुनुअघि यो लोकप्रिय सामाजिक सञ्जालमा उनका गीतहरु फिर्ता आएका हुन् ।
सीएनएनका अनुसार टिकटकको नयाँ संगीत क्याटालगमा स्वीफ्टका गीत समेटिएका छन् । यी गीतलाई संगीत सिर्जना गर्ने जोकोहीले प्रयोग गर्न सक्नेछ ।
जनवरीमा युनिभर्सल म्युजिक ग्रुपले टिकटकसँग सम्झौताको म्याद सकिन लागेको बताउँदै टेलरसहित एरियाना ग्रान्डे, क्यामिला काबेलो र रिहानाका गीतलाई फिर्ता लिएको थियो । प्रतिलिपि अधिकार उल्लंघनको कारण गीत टिकटकबाट हटाइएको उक्त अवसरमा बताइएको थियो ।