काठमाडौँ । आज शनिबार इलाम निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएकोले निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी )एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघातका कारण र बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज चुनाव हुन लागेको हो ।
आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा मतदाताको नाम हुनुपर्नेछ ।
इलाम २ उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू, स्वातन्त्रबाट डेकेन्द्रसिंह थेगिमलगायत १९ जना चुनावी मैदानमा छन् ।
यसैगरी, बझाङमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (एमाले) बाट दमन भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट जनक बुढा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर सिंहसहित १२ जना प्रतिस्पर्धामा छन् ।