राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता सम्पन्न, थप सहयोगमा चासो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीचको भेटवार्ता सम्पन्न भएको छ । ई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न काठमाडौं आएका कतारी राजासँग राष्ट्रपति निवास शीतल निवासमा दुई पक्षबीच भेटवार्ता भएको थियो

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले हमासले इजरेलबाट बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमिरलाई अनुरोध गरे।

कतारका अमिर र नेपालका राष्ट्रपतिबीचको भेटवार्तामा जलवायु परिवर्तन र नेपालमा कतारले गर्नसक्ने सम्भावित लगानीबारे पनि छलफल भएको छ।

राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दाहरू टुङ्गोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरेका छन् ।

त्यस्तै कतारका अमिर अल थानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौता सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सुखद् वातावरण तयार हुने बताए ।

भेटवार्तामा जलवायु परिवर्तन, हिमाल, पानीको स्रोत र वातावरण सन्तुलनजस्ता विषयमा पनि छलफल भएको छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलका अनुसार कतारमा रहेका नेपाली श्रमिकहरूका हक अधिकारको रक्षा, सेवासुविधाको कुरा समग्रमा राष्ट्रपतिले राख्नुभयो। कतारका अमिरले नेपाली श्रमिकहरूलाई अझ राम्रो क्षेत्रहरूमा लैजाने योजना रहेको जानकारी दिनुभयो।

छुटाउनुभयो कि ?

TOP