कतारका राजा आज आउँदै, २१ तोपको सलामीसहित स्वागतको तयारी

काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज मंगलबार कतारका राजा अमिर शेख तमिम बिन हमाद अली आउँदैछन् । उनलाई स्वागत गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने भएका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।

फिलिपिन्सबाट एसिया भ्रमण थालेका कतारी राजा बंगलादेशबाट काठमाडौं उत्रन लागेका हुन् । उनले मंगलबार बेलुका नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । उक्त भेटवार्तापछि राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा सोल्टी होटलमा राजकीय रात्रिभोज आयोजना गर्दै छन् । भ्रमणको दोस्रो दिन बुधबार बिहान कतारी राजा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुने तय भएको छ ।परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईको जानकारीअनुसार दुई मुलुक बीचमा विभिन्न ५ क्षेत्रमा समझदारी हुने तयारी छ ।

राईका अनुसार उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका विषयमा सहकार्य गर्ने विषयमा समझदारी हुनेछ । साथै, थप अन्य तीन विषयमा पनि समझदारी हुने राईले बताए । नेपाल र कतारबीच हुने भनिएको श्रम सम्झौता भने यस पटक नहुने भएको छ ।

दुई मुलुकबीच कूटनीति सम्बन्ध स्थापना भएपछि पहिलो पटक कतार प्रमुखबाट हुन लागेको उच्च भ्रमण महत्त्वपूर्ण भएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताए । ‘यो भ्रमणले दुवै मुलुकको आर्थिक र सामाजिक पक्षलाई थप बलियो बनाएर जनस्तरको सम्बन्धलाई पनि थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।
नेपाल र कतारबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसपछि नेपालबाट प्रधानमन्त्रीहरू, तत्कालीन दुई राजाहरू, पूर्व दुई राष्ट्रपतिहरू, सभामुख र मन्त्रीहरूले कतारको भ्रमण गरिसकेका छन् । नेपालबाट कतारमा पहिलो उच्च भ्रमणका रूपमा सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । तर कतारबाट भने मन्त्रीस्तरमा मात्र हालसम्म भ्रमण भएको थियो ।

कतार नेपाली श्रमिकका लागि पश्चिम एसियाली मुलुकमा महत्त्वपूर्ण गन्तव्य हो । कतारमा हाल करिब साढे ३ लाख नेपाली कामदार कार्यरत छन् । हालसम्म करिब १७ लाख नेपालीले कतारमा गएर काम गरिसकेका छन् ।

छुटाउनुभयो कि ?

TOP