‘गृहमन्त्री लामिछानेको पाराले, दुःख पाए साराले’

काठमाडौँ ।  पोखराका सहकारीपीडित बचतकर्ताले सोमबार पोखरामा बृहत दबाब र्‍याली प्रदर्शन गरेका छन् । सहकारी बचतपीडित संघर्ष समिति कास्कीले पहिलो चरणको दबाब कार्यक्रम अन्तर्गत र्‍याली गरेको हो ।

गृहमन्त्री लामिछानेलाई पोखराका पीडितहरु नराजुलस गर्दै भनेका छन् ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’, ‘गृहमन्त्री तिम्रो पाराले, दुःख पाए साराले’। त्यसैगरी पीडितहरुले गृहमन्त्री लामिछानेलाई सहकारी किन लुतेको भनेर प्रश्नसमेत गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय गैह्रापाटनबाट सुरु भएको र्‍याली पोखरा महानगरपालिकाको कार्यालय न्युरोड हुँदै जिल्ला प्रशासन कार्यालय सहिदचोक पुगेको थियो । सहकारी पीडितले सहकारी ठगीमा संलग्नलाई राजनीतिक संरक्षण रहेको भन्दै नाराबाजी गरेका थिए । संघर्ष समितिले जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् ।

अदालतमा मुद्दा परेका कास्कीका ६ सहकारीका पीडित बचतकर्तासहित समस्यामा रहेका अन्य सहकारीका बचतकर्ता पनि र्‍यालीमा सहभागी थिए । सर्वसाधारणको बचत अपचलन गर्ने सूर्यदर्शन, इमेज, मित्र मिलन, बलिदानी, शिवशिखर र विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता संघर्ष समितिमा आवद्ध छन् ।

यसअघि यी सहकारीका बचतकर्ताले छुट्टाछुट्टै संघर्ष समिति बनाएर आन्दोलित हुँदै आएका थिए । ‘अहिले अदालतमा मुद्दा परेका सहकारी मात्रै ६ वटा हुन्, समस्यामा परेका सहकारी दर्जनौं छन्,’ संयोजक श्रेष्ठले भने, ‘राज्यका सबै निकायमा अनुरोध, ज्ञापनपत्र, दबाब दिँदा पनि हाम्रो समस्या समाधान गर्न उदासिन देखिएकोले थप दबाब सिर्जना गर्न संघर्षका कार्यक्रम ल्याउनुपरेको हो ।’ र्‍यालीपछि अन्य संघर्षक कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।

छुटाउनुभयो कि ?

TOP