काठमाडौं । बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा स्वतन्त्रतर्फका साझा उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई धरान उपमहानगरका मेयर हर्क साङपाङले समर्थन गरेसँगै ठूला पार्टीहरुका लागि चुनौति बन्दै गएको छ । थेगिमको चुनाव चिह्न मुढा यतिबेला भाइरल भइरहेको छ ।
इलाम २ बाट प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका पूर्व सभामुख स्व. सुवास नेङवाङको असामयिक निधन भएपछि यस क्षेत्रमा उपनिवार्चन हुँदैछ । नेकपा (एमाले) ले सुवास नेङवाङकै कान्छा छोरा सुवाङ नेङवाङलाई उम्मेदवारको रुपमा उठाएको छ भने माओवादी केन्द्रलगायतका केही दलले उनको उनलाई समर्थन पनि छ । नेपाली कांग्रेसले डम्बर खड्कालाई उठाएको छ । नेपाली कांग्रेस थोरै मतले मात्रै पराजित भएका थिए । रास्वपाले मिलन लिम्बुलाई टिकट दिएको छ ।
स्वतन्त्र उम्मेद्वार थेगिमको बलियो पक्ष भनेको पहिचानको आन्दोलन हो । प्रदेशको नामाकरण कोशी राखेसँगै त्यसको विरोधमा एक वर्षदेखि पहिचान पक्षधरहरु निरन्तर आन्दोलनमा छन् । थेगिम पहिचान आन्दोलनका एक नेता हुन् । उनलाई पहिचान पक्षधरको पूरै समर्थन छ । त्यसैगरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, हर्क साङपाङ, स्वागत नेपालले मैदान उत्रेर थेगिमलाई भोट मागेका छन् ।
आजसम्मको चुनावी माहौल हेर्दा एमाले, कांग्रेस र स्वतन्त्र उम्मेदवार थेगिमबीच त्रिपक्षीय भिडन्त हुने प्रष्ट देखिएको छ ।