काठमाडौं । सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो ।
यससँगै जनकपुरको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जितसँगै सुदूरपश्चिम शीर्षस्थानमा उक्लिएको छ । पराजित जनकपुर दोस्रो स्थानमा झरेको छ ।
जितका लागि एक सय २४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरका सबै विकेट गुमाएर ५१ रनमा समेटिएको हो । जनकपुरले बनाएको यो जारी एनपिएलकै सबैभन्दा कम रन हो ।
जनकपुरलाई झुकाउन सुदूरपश्चिकको बलिङलाइन चुस्त बन्यो । जनकपुरका लागि जोसुवा ट्रम्पले १३ रन जोड्नुबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
जनकपुरलाई सस्तो स्कोरमा समेट्न सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हर्मित सिंहले दुई दुई विकेट लिनुभयो । यस्तै नरेन साउद र स्कट कग्लेजिनले एक एक विकेट झारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरका नौ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारीले ३३ र सईफ जैवले २१ रन बनाए। यस्तै इसान पाण्डेले १७ र ब्रान्डन म्याकमुलनले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङमा जनकपुरका किशोर महतोले चार विकेट लिए । उनले विकेट लिने क्रममा चार ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चिए । यस्तै सेर मल्ल र अरनिको यादवले दुई दुई विकेट लिए। हर्ष थाकरले एक विकेट झारे ।
जारी लिगका जनकपुर र सुदूरपश्चिम बलिया टोली हुन् । पाँच खेलको समाप्तिसँगै सुदुरपश्चिमले आठ अङ्क बनाएको छ । यस्तै पहिलो खेल हारेको जनकपुरको पनि आठ अङ्क छ ।