काठमाडौँ। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपिएल० मा जितका लागि जनकपुर बोल्ट्सलाई एक सय २४ रनको सामान्य लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरका नौ विकेटको क्षतिमा एक सय २३ रन बनायो ।
सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारीले ३३ र सईफ जैवले २१ रन बनाए । यस्तै इसान पाण्डेले १७ र ब्रान्डन म्याकमुलनले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
सुदूरलाई सस्तैमा रोक्न बलिङमा जनकपुरका किशोर महतोले चार विकेट लिए । उनले विकेट लिने क्रममा चार ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चिए। यस्तै सेर मल्ल र अरनिको यादवले दुई दुई विकेट लिए । हर्ष थाकरले एक विकेट झारे।
जारी लिगका जनकपुर र सुदूरपश्चिम बलिया टोली हुन् । यसअघि चारवटै खेलमा अपराजित जनकपुर आफ्नो अपराजित लयलाई जारी राख्ने अभियानमा छ । यस्तै चार खेलमा तीन जित निकाल्दै दोस्रो स्थानमा रहेको सुदूरपश्चिम आज अनकपुरलाई रोक्दै अगाडि बढ्ने लक्ष्यमा छ ।
सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हर्मित सिंहलाई अनुबन्ध गरेर बुधबारदेखि नै मैदानमा उतारेको छ । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी-२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका सिंह सोमबार नेपाल आइपुगेको हो ।
भारतबाट यु-१९ विश्वकप जित्नुभएका सिंहको आगमनसँगै सुदूरपश्चिमले थप बलियो बनेको दाबी गरेको छ । तर सिंह बुधबार एक रन जोड्दै पेभेलियन फर्के ।