एजेन्सी । संयुक्त राज्य अमेरिकाले इजराइलले इरानविरूद्ध गर्ने कुनैपनि जवाफी आक्रमणमा सहभागी नहुने घोषणा गरेको छ।
इरानले इसराइलमाथि ड्रोन र मिसाइल आक्रमण गरेपछि अमेरिकाका राष्ट्रपति जो बाइडेन र इजराइली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुबीच भएको टेलिफोन संवादमा इजरालको रक्षा गर्ने सम्बन्धमा अमेरिका प्रतिबद्ध रहेको तर उसले गर्ने कुनैपनि प्रत्याक्रमणमा भने आफ्नो संलग्नता नहुने बताएका हुन्।
बाइडेनले इजराइललाई संयमतापूर्वक इरानविरूद्ध आफ्नो रणनीति अपनाउन पनि आग्रह गरेको छ।
‘हामी यस्ता कुनैपनि गतिविधिमा भाग लिने कल्पना सम्म गर्न सक्दैनौं,’ ह्वाइट हाउसका एक अधिकारीले बिबिसीसँग भनेका छन्।
यसबारेमा इरानलाई पनि कुटनीतिक संयन्त्रमार्फत जानकारी गराइएको ती अधिकारीले जनाएका छन्।
अमेरिका इसराइलको सबैभन्दा ठूलो सहयोगी शक्ति राष्ट्र हो। इसराइलमाथि आक्रमण गरेपछि इरानले अमेरिकालाई दुई देशबीचको द्वन्द्वमा सहभागी नहुन चेतावनी समेत दिएको थियो।
अमेरिकाले इसराइलमाथि भएको हवाई हमलालाई निस्तेज भने पारेको थियो। शनिबार इरानले प्रहार गरेको ३ सय भन्दा बढी ड्रोन र मिसाइल आकाशमै निस्तेज तुल्याइएको थियो ।
इरानले आफ्नो भूमिसहित इराक, सिरिया, यमनको भूमिबाट इसराइलमाथि आक्रमण गरेको थियो। उसले त्यसलाई १ अप्रिलमा सिरियास्थित आफ्नो दूतावास हमलाको बदला भनेको थियो।
सिरियाको दमास्कसस्थित इरानी दूतावासमा इजराइले आक्रमण गर्दा त्यहाँ तीन जनरलसहित सात इरानी सैन्य अधिकृत मारिएका थिए। त्यसयता उसले अन्य मुलुकमा रहेको इसराइलको दूतावासमा आक्रमण गर्ने चेतावनी दिएपनि शनिबार राति सिधा इसराइलमाथि नै आक्रमण गरेको थियो।
इरानले प्रहार गरेको ९९ प्रतिशत ड्रोन र मिसाइलहरू इजराइल र अमेरिका, बेलायत , फ्रान्स र जोर्डन लगायतका देशहरूले लक्ष्यमा पुग्नुअघि नै निस्तेज तुल्याएका थिए।
अमेरिकाले मात्रै ८० भन्दा बढी ड्रोन र ब्यालेस्टिक मिसाइलहरू निस्तेज पारेका थियो।
यसपछि इरानलाई चाँडै जवाफ दिनुपर्नेमा इसराइली अधिकारीहरूले जोड दिइरहेका छन्।
तर अमेरिकाले विचार गरेर रणनीति बनाउन भनेपछि इसराइलले तत्काल कुनैपनि जवाफी हमला गरेको छैन, तर यसको बदला लिने चेतावनी भने दिइसकेको छ।