शनिबार नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन्।
जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान हुने प्रतिवद्धता पनि जनाए।
‘राष्ट्रसेवकहरुलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस्। कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभइ जनताको सेवा गरेमात्रै संगठन बलियो बन्छ भन्ने सुनिश्चितता हुनेछ,’ उनले भने।
काठमाडौं शहरलाई चलायमान र क्रियाशिल बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको पनि गृहमन्त्री लामिछानेले बताए। उनले काठमाडौं जिउँदो, जाग्दो शहर बनाउन आफूले काम गरिरहेको बताए।