काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा सहभागी हुन वन तथा वातावरण मन्त्रालयमार्फत् नेपालबाट जम्बो टोली अजरबैजानको बाकुमा गएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो व्यक्त गरेको छ ।
आयोगले सोमबार वन मन्त्रालयलाई पत्र लेखेर नेपालबाट तीन जना मात्र जानुपर्नेमा जम्बो टोली किन बाकु पठाएको भनेर प्रश्न गरेको हो ।
मन्त्रालय र मातहतका विभाग तथा कार्यालयबाट ३१ जनाको नेपाली टोली बाकु गएको छ । मन्त्रालयको टोलीमा वन मन्त्री ऐनबहादुर शाही, मन्त्रालयका सचिव डा. दीपक कुमार खरालदेखि प्रशासन महाशाखा प्रमुख एवम् सहसचिव भुपाल बराल र प्रशासन महाशाखाका उपसचिव शोभाकर रेग्मीसमेत टोलीमा छन् ।
‘अख्तियारले चार-पाँच वटा प्रश्नहरुसहित आवश्यकता, औचित्य, त्यहाँको कामको जिम्मेवारी के हो भनेर सोधेको छ, त्यो पत्र सचिवज्युसम्म पनि पुगिसकेको छ,’ वन मन्त्रालय स्रोतले भन्यो, ‘प्रशासन महाशाखा प्रमुख फर्किएपछि जवाफ पठाउने काम हुन्छ ।’
प्रशासन महाशाखा प्रमुख बराल छिट्टै काठमाडौं फर्किने तयारीमा रहेको पनि मन्त्रालय स्रोतले बतायो । ‘सम्मेलनमा सहभागी हुनेहरुको मनोनयन गरेको फाइल प्रशासन महाशाखामा हुन्छ, अहिले महाशाखाका सहसचिव र उपसचिव दुबै बाकु हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘त्यसैले प्रशासन महाशाखा प्रमुख चाँडै फर्किने र जवाफ पठाउने काम हुन्छ ।’ प्रशासन महाशाखा प्रमुख बराल १६ तारिख (मंसिर १ गते) काठमाडौं फर्किने तयारीमा छन् ।
मन्त्री शाहीको भने १८ तारिखको दिन प्रस्थान गरेर १९ तारिखमा काठमाडौं आइपुग्ने टिकट छ ।