नेपाली कांग्रेसबाट २०७९ को स्थानीय निर्वाचनमा अध्यक्ष विजयी भएका रेखबहादुर खत्री विकासप्रेमी नेताका रुपमा परिचित छन् । उनी निर्वाचित भएपछि स्थानीय स्तरमा विकासे काममा हुने भ्रष्टाचार रोकिएको र विगतमा हेरी धेरै नै विकास भएको स्थानीयहरुको भनाइ छ । गोठगाउँमा पानीको हाहाकार थियो । अघिल्ला जनप्रतिनिधिहरुले पानीको व्यवस्थानमा सिन्को पनि भाचेनन् । तर वर्तमान अध्यक्षले दुई वर्षमै साविकको ९ वडामध्य १ देखि ७ सम्म खानेपानीको व्यवस्थापन गरेर जनताको थप मन जितेका छन् । र केही वर्षभित्र ८ र ९ मा पनि घरघरमा धारा पु¥याउने प्रतिबद्धता अध्यक्षको छ । नयाँ मार्ग मासिकले रामेछाप नगरपालिका–१, गोठगाउँका अध्यक्ष रेखबहादुर खत्रीसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
मेरो पहिलो प्रतिवद्धता भनेको वडा अध्यक्षको हैसियतले वडाको बजेटमा एक रुपैया पनि भ्रष्टाचार नगर्ने हो । मेरो अरु केही सिद्धान्त छैन् । भ्रष्टाचार जघन्य अपराध हो । मैले भन्ने गरेको छु भ्रष्टाचार गर्नु आमाको रगत खानु बाराबर हो । म आफ्नो पाँच वर्षको कार्यकाल गोठगाउँका आमाबुबा, दाजुभाइ, दिदीबहिनीको सेवा गरेर, यस ठाउँको सक्दो विकास गरेर विताउन चाहन्छु ।
गोठगाउँमा खानेपानीको दुःख थियो । अहिले पनि छ । तर खानेपानीको समाधानका लागि विगतमा पहल पुग्न सकेन वा जनप्रतिनिधिहरुको ध्यान, सक्रियता पुगेन त्यो उहाँहरुको कुरा हो । मेरा मतदानहरुको ठूलो गुनासो थियो । म अध्यक्षमा निर्वाचित हुने वित्तिकै पहिलो प्राथमिकतामा राखेर मैले पानीका लागि पहल गरेँ । अहिले साविकको १ देखि ७ नम्ब वडासम्म करिब घरघरमा धरा पुगिसकेको छ । अब छिटै साविकको ८ र ९ नम्बर वडामा पनि सबै घरमा धारा र पानी पुग्छ । त्यसका लागि म काम गरिरहेको छु । सबैको घरघरमा धारा र पानी पुग्यो भने घरघरमा करेसाबारी सप्रिन्छ । गोठगाउँबासीले बाह्रै महिना हरियो तरकारी खान पाउँछन् । अहिले हिउँदतिर गुन्द्रुकसँग भात खानु बाध्यताजस्तो बनेको छ । यसले नागरिकको स्वास्थ्यमा गम्भिर असर पर्छ । पौष्टिकताको कमी हुन्छ । त्यसकारणले पानी मानिसको समृद्धि, स्वास्थ्य र खुसीसँग जोडिएको विषय हो । पानीको विषयमा स्थानीय सरकार गम्भिर बन्नुपर्छ ।
मैले अहिले पानीसँगै सडक संजाललाई व्यवस्थित गर्न खोजिरहको छु । मेरो दुईवर्षको कार्यकालमा सडक संजालमा थुप्रै काम भएका छन् । लगभग टोल–टोलमा सडक पुगेको छ । अब सडक विस्तारभन्दा पनि विस्तार भएका सडकको स्तरउन्नती गर्नुपर्ने छ । अबको प्राथमिकता सडकको स्तरउन्नती हो । अहिले हामीसँग कच्चि सडक विस्तार भइरहेको छ । तर मेरो बाँकी कार्यकालभित्र श्रीचण्डेश्वरी माविसम्मको मुल सडक ग्रावेल गरिसक्ने योजना छ । सडक विकासको मेरुदण्ड हो । सडक बलियो भने भने विकास बलियो हुन्छ । कृषि बलियो हुन्छ ।
हाम्रो वडामा उच्च मावि एउटा छ । अहिले त्यहाँ ३०० भन्दा बढी विद्यार्थी पढिरहेका छन् । हामी त्यो विद्यालयलाई मेगा विद्यालयको रुपमा संचालन गर्ने तयारी गरिरहेका छौं । समुदायिक विद्यालय राम्रो भयो भने आम नागरिकले गुणस्तर शिक्षा प्राप्त गर्न सक्छन् । राज्य भनेको बलियाका लागि होइन, राज्य सधै कमजोरहरुको पक्षमा उभिनुपर्छ भन्ने मेरो मान्यता हो । सामुदायिक विद्यालयलाई राम्रो बनायन वडापालिका, विद्यालय व्यवस्थापन समिति, हेडमास्टर, शिक्षक र अभिभावकको संयुक्त प्रयास जरुरी छ । अब वडापालिकाले सबै पक्षलाई संयोजन गरेर गुणस्तर शिक्षाका लागि काम गर्छौं । त्यसका लागि शिक्षाको मास्टरप्लान बनाएर काम गर्नुपर्ने हुन्छ । अब तुरुन्तै शिक्षाको मास्टरप्लान बनाएर अगाडि बढ्छौं । शिक्षालाई स्थानीय ज्ञान, सीप, प्रविधि, कृषिसँग जोेडेर लान जरुरी छ । शिक्षकका लागि आवश्यक तालिमको व्यवस्था गर्छौं । मुख्य कुरा समुदायको सक्रियाविना सामुदायिक शिक्षा सपार्न कठिन छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रमा पनि काम भइरहेको छ । वडापालिकामा स्वास्थ्य भवन बन्दैछ । स्वास्थ्य राम्रो हुन पिउने पानी राम्रो हुनुपर्ने रैछ । खानेकुरा पोसिलो र अर्गानिक हुनुपर्ने रैछ । अब हामीले अर्गानिक कृषिमा जोड दिन जरुरी छ । वडापालिकाको तर्फबाट हामी कृषिका लागि पनि सक्दो काम गर्छौं ।