विकल खड्का
(लेखक अखिल क्रान्तिकारी को २३ औ राष्ट्रिय सम्मेलनमा जिल्ला भूगोलको तर्फबाट केन्द्रिय सदस्यको उम्मेदवार हुनुहुन्छ ।)
नेपालको परिवर्तनको आन्दोलनमा विद्यार्थी संगठनको योगदान अतुलनीय छ । राणाविरोध आन्दोलन, पञ्चायत विरुद्धको आन्दोलन र राजतन्त्र विरोधी आन्दोलनमा विद्यार्थीहरुको त्याग, तपस्या र बलिदान ओजपूर्ण छ ।
जतिबेला राणा र राजावादीहरुले नेपाली जनतामाथि चरम दमन गरिरहेका थिए, त्यसका विरुद्धमा नेपाली युवाहरुले ठूलो आँट र साहस गर्दै त्यो व्यवस्थाको विरुद्ध संगठित भए । १९९६ मा नेपाली युवा विद्यार्थी भारतको कलकतामा गंगालाल श्रेष्ठहरुले तत्कालिन राणा व्यवस्थाको विरुद्ध पहिलो पटक संस्थागत रुपमा संगठनको निर्माण गरे । त्यो थियो– अखिल नेपाल फेडेरेशन । त्यो समयमा नेपालमा राजनीतिक पार्टी र दलप्रति पूर्ण प्रतिवन्ध थियो । त्यो संक्रमणकालिन समयमा नेपालमा विद्यार्थी संगठनहरुले देशको स्वतन्त्रता र स्वाधिनताको निम्ति आन्दोलन गर्दै र आफूलाई स्थापित गर्दै यहाँसम्मको यात्रा गरेको छ । संघर्ष र बलिदानको यो लामो यात्रामा विद्यार्थी संगठनले सामाजिक, आर्थिक र शैक्षिक मुद्दाहरुलाई शशक्त रुपमा उठाउँदै र स्थापित गर्दै आएको छ । यो विद्यार्थी आन्दोलनले हासिल गरेको गौरवपूर्ण इतिहास हो ।
नेपालको व्यवस्था परिवर्तनको आन्दोलन निकै लामो छ । सबै आन्दोलनहरुमा युवा विद्यार्थीको बलिदान भएको छ । राणा विरोधी आन्दोलनमा मारिने चार शहिदहरुमध्य एक जना गंगाल त्रिचन्द क्याम्पसमा पढ्दै गरेका २१ वर्षे विद्यार्थी थिए । पञ्चायतविरुद्धको संघर्षमा पनि थुपैै्र विद्यार्थीहरुले बलिदान गरेका छन् । त्यसैगरी जनयुद्धको प्रथम शहिद दिलबहादुर रम्तेल स्कुल पढ्दै गरेका विद्यार्थी थिए । नेपाली विद्यार्थी आन्दोलनले सबैभन्दा ठूलो बलिदान जनयुद्धमा गरेको थियो । नेपाली समाज परिवर्तनको आन्दोलनमा विद्यार्थी संगठन अग्र मोर्चामा रहेर क्रान्तिमा पूर्ण रुपमा सामेल भएको गर्विलो इतिहास जीवितै छ ।
विचारको आन्दोलनमा पनि विद्यार्थी संगठनको योगदान त्यतिकै छ । राजनीतिक परिवर्तनका लागि वैचारिक आन्दोलनको धारिलोपना आवश्यक हुन्छ । क्रान्तिकारी धाराको विचार निर्माणमा विद्यार्थी आन्दोलनने निकै ठूलो योगदान गरेको छ । तर अहिले विचारको आन्दोलन भुत्ते हुँदै गइरहेको छ । यो ठूलो चिन्ताको विषय हो । खुल्ला फोरममार्फत् नयाँ सिराबाट राजनीतिक वहस निर्माणमा लाग्नु अखिल (क्रान्तिकारी)को आजको नयाँ र महत्वपूर्ण कार्यभार हो । यो ऐतिहासिक जिम्मेवारीबाट अलिख क्रान्तिकारीलाई भाग्ने छुट किमार्थ छैन ।
अहिले राजनीति वितृष्णा बढ्दो छ । युवाहरुको राजनीतिप्रतिको विकर्षण निकै डरलाग्दो छ । यस्तो परिस्थितिमा युवाहरुलाई राजनीतिक, सामाजिक, चेत भर्नु अखिल (क्रान्तिकारी) को दायित्व हो । अब नयाँ बन्ने हाम्रो संगठनले युवाहरुमा राजनीतिक चेतनाको दिप बाल्ने कोशिष गर्नु पर्दछ । अहिले अखिल क्रान्तिकारीले २३ औं राष्ट्रिय सम्मेलद गर्न गइरहेको छ । देशव्यापी भेला सम्मेलन, स्कुल, क्याम्पस इकाइदेखि विश्वविद्यालय, जिल्ला, प्रदेश कमिटीसम्मको सम्मेलनहरु सम्पन्न गर्दै नयाँ जोस जाँगरको साथ राष्ट्रिय सम्मेलनको तयारीसम्म हाम्रो संगठन आइपुगेको छ । यो क्रममा निकै सकारात्मक बहसहरु भएका छन् । युवाहरुसँग छलफल भएको छ । देशको समृद्धिबारे बहस भएको छ । सुशासनबारे बहस भएको छ । समाजवादबारे बहस भएको छ । भ्रष्टाचारको अन्त्य कसरी गर्न सकिन्छ भन्ने बारे बहस भएको छ । तर बहस अझै माझिएको छैन ।
हामी अहिले लोकतन्त्राको भरपुर अभ्यास गर्ने ठाउँमा छौं । राजनीतिक दलहरुले लोकतन्त्रको अभ्यास संगठनभित्रै गर्ने हो । तर पार्टीभित्र लोकतन्त्रको अभ्यास प्रयाप्त हुनसकेको छैन । तलतलका कमिटिहरुको सम्मेलन सम्पन्न गर्दै गर्दा केही इकाइ समितिमा लोकतान्त्रिकरणको अभ्यास पनि गरियो । अधिकांश सम्मेलनहरुमा पार्टीको पूर्ण हस्तक्षेप थियो । यो तितो अनुभूति हामीेले भोगेर आएका छौं । हाम्रो विद्यार्थी संगठनले पार्टीभित्रको लोकतन्त्रको सम्बन्धमा निर्मम भएर बहस गर्न आवश्यक छ ।
हाम्रो पार्टी र विद्यार्थी संगठन लोकतन्त्रको लागि लडेर आएको हो । तर आज हाम्रै संगठनभित्र लोकतन्त्रको अभ्यास गर्न कठिन भइरहेको छ । आज हामीले चाहेर वा नचाहेर कम्युनिष्टहरुको संरचना पुँजीवादी पार्टी संगठनहरु जस्तो भइसक्यो । नेपालमा कम्युनिष्ट पार्टी संगठन र पूँजीवादी पार्टी बीच तुलनात्मक भिन्नता पाउन कठिन हुँदै गएको छ । अखिल क्रान्तिकारी नेविसंघभन्दा भिन्न कसरी ? राप्रपाभन्दा भिन्न कसरी ? यो प्रश्नको जवाफ दिन आज त्यति सजिलो छैन ।
आज हाम्रो विद्यार्थी संगठन नेतृत्वहरुको गलत प्रवृत्तिको विरुद्ध किन खुलेर बोल्न सकेका छैनन् ? आज किन कम्युनिस्ट पार्टीमा संगठित युवाहरुमा आलोचनात्मक चेत हराउँदै गएको छ ? हिजको दिनमा सांस्कृतिक क्रान्तिको सुरुवात गर्नेहरु आज किन सबैभन्दा धार्मिक छन् ? आजको विश्वसमाजले यति धेरै खोज अनुसन्धान गर्दै अन्तरिक्ष पुग्दै गर्दा, आर्टिफिसियल इन्टलीजेन्सको आविस्कार गर्दै गर्दा नेपाली समाज किन धार्मिक र अन्धविस्वासबाट ग्रस्त छ । आजको विद्यार्थी संगठनभित्र यो बहस हुनुपर्दछ । अखिल (क्रान्तिकारी) विचार, सिद्धान्त र आन्दोलनमा प्रष्ट हुनुपर्दछ । २३ औं राष्ट्रिय सम्मेलने यो विषयमा प्रष्ट धारणा निर्माण गर्नु पर्दछ । कि हाम्रो विचारमा धर्म, जातलाई हेर्ने दृष्टिकोण के हो ? सामाजिक क्रान्ति, सांस्कृतिक क्रान्तिलाई कुन रुपमा अघि बढाउने ? समाजवादी शिक्षालाई कुन रुपमा स्थापित गर्ने ? इत्यादि विषयमा प्रस्ट रुपमा हाम्रो संगठन अघि बढ्नु पर्दछ । नत्र आजको दिनमा संगठनको औचित्य माथि प्रश्न खडा हुने अवस्था देखिन्छ । हामीले अखिल (क्रान्तिकारी) लाई पार्टीको नर्सरीको रुपमा विकास गर्नु पर्दछ । जसरी नर्सरीहरुमा नयाँ नयाँ विरुवा उत्पादन हुन्छ त्यसैगरी विद्यार्थी संगठनमा नयाँ नयाँ युवा विद्यार्थीलाई संगठित गरेर नयाँ नेतृत्व गर्न दिनु पर्ने हुन्छ । त्यसकारण हामीले पार्टी संगठनमा पूर्ण लोकतन्त्रको अभ्यास गर्न तयार हुनुपर्दछ । जसले गर्दा संगठन चलाएमान र नयाँ नयाँ पुस्ताहरु नेतृत्वमा आइरहन्छन् । त्यसले संगठनहरुमा छुट्टै ऊर्जा प्राप्त हुन्छ ।
अखिल (क्रान्तिकारी) लाई पार्टी नेताको पि.ए. उत्पादन गर्ने उद्योगको रुपमा विकास गर्नु हुँदैन । देश, समाज र पार्टी निर्माणको भारी बोक्न सक्ने नेतृत्व निर्माण गर्नुपर्दछ । विद्यार्थीको मुद्दामा बोल्न नसक्ने विद्यार्थी संगठन युवाहरुको मुद्दामा नबोल्ने युवाहरुको संगठन, महिलाहरुको पक्षमा बोल्न नसक्ने महिला संगठन, दलितहरुको पक्षमा बोल्न नसक्ने दलित संगठन, किसानहरुको मुद्दामा नबोल्ने किसान संगठन, मजदुरको मुद्दामा नबोल्ने मजुदर संगठनको कुनै औचित्य हुँदैन । त्यसकारण पार्टी नेतृत्वले पनि पार्टीका संगठनहरुमा लोकतन्त्रको अभ्यस गर्दै विद्यार्थीको पक्षमा बोल्नसक्ने विद्यार्थी संगठन कसरी बनाने, युवाहरुको मुद्दामा पूरै तागत लगाएर लड्न सक्ने युव संगठन कसरी बनाउने भन्नेबारेमा सोच्न र कार्ययोजना बनाउन आवश्यक छ । हामी विद्यार्थी नेताहरुले आफ्नै संगठनभित्रबाट यो अभ्यास थाल्नुपर्छ । गर्ने हामीले नै हो । देश बनाउने नै हो । बनाउने हामीले नै हो । देश कसरी बनाउन सकिन्छ ? शिक्षा राम्रो कसरी बनाउन सकिन्छ ? रोजगारी सिर्जना कसरी गर्न सकिन्छ ? सामाजिक विभेदको अन्त्यका लागि के गर्नुपर्छ ? जस्ता प्रश्नहरुमाथि फराकिलो बहसको थालौं । अझै ढिला भएको छैन, तर अब पनि नथाले धेरै ढिला हुनेछ ।