काठमाडौँ । कांग्रेस र एमाले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन भएको छ ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल बनाएको हो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।
सरकार गठन भएको लामो समय बितिसक्दा पनि न्यूनतम साझा कार्यक्रम सार्वजनिक नगरिएको भन्दै प्रश्न उठ्न थालेपछि कांग्रेस-एमालेले बल्ल न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न लागेका हुन् ।
आइतबार साँझ प्रधानमन्त्रीको निवासमा बसेको बैठकमा प्रधानमन्त्री ओली र देउवासहित उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरू सहभागी थिए ।